DURGA PANGENI

मन परे दिलमा, मन नपरे डिलमा !

Wednesday, August 4, 2021

कलाकार दुर्गेश थापा बहिस्कारको हल्ला र सत्य

अहिले बजारमा यौटा हल्ला व्याप्त छदुर्गेश थापालाई बहिस्कार गर्‍यो प्रतिष्ठानले भन्ने हल्ला । कलाकार  दुर्गेश थापालाई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको केन्द्रीय कार्यसमितिले आफ्नो विधानको अधीनमा रही कारबाही गरेको हो । कारबाहीमा ‘बहिस्कार’ गर्ने कुरा कतै उल्लेख छैन र संस्थाको विधानमा कसैलाई बहिस्कार गर्न मिल्ने भनेर उल्लेख गरेको पनि छैन । त्यसैले दुर्गेश थापालाई प्रतिष्ठानले बहिस्कार गर्न मिल्दैन पनि ।

 

सत्य कुरा के हो भने दुर्गेश थापाले पटक पटक संस्थालाई अनादर गरेपछि (आरोपहरु)संस्थाका अनुरोधहरू लाई तिरस्कार गरेपछि र संस्थागत निर्णयहरू लाई लत्त्याएपछि संस्थाले उनले ग्रहण गरेको आफ्नो ‘आजीवन सदस्यता’ फिर्ता लिएको मात्र हो । सदस्यता फिर्ता सँगै अब दुर्गेश थापा सँग संस्थाले ‘संस्थागत सहकार्य’ गर्नेछैन –यो कारबाहीको अर्को पाटो हो । संस्थागत सहकार्य हुनको लागि संस्था प्रतिको इमानदारिता पनि प्रस्ट हुनुपर्छ जुन कलाकार थापामा देखिएन त्यसैले अब थापा सँग संस्थाले सहकार्य गर्नेछैन –निर्णयको सार यत्ति हो ।

 

संस्थागत सहकार्य भन्नाले कस्ता कुराहरू पर्लान् ? अथवा संस्थाबाट हुने सहयोग रोक्का भन्नाले कस्ता कस्ता सहयोग रोकिने हुन् ? यी विषयहरू प्रस्ट हुनु पर्दछ । जस्तै संस्थाले अहिले विदेशमा हुने  सांस्कृतिक कार्यक्रम को लागि भिसा प्राप्त गर्ने सहयोगी कागजपत्र ‘आबद्धता प्रमाणपत्र’ प्रदान गर्ने गरेको छ । संस्थाको पत्रलाई दूतावासहरूले विश्वास गरेर भिसा प्रदान गर्ने गरेको सबैलाई अवगत नै  छ । अब विदेश यात्रा गर्दा दुर्गेश थापाले संस्थामा आबद्ध रहेको प्रमाणपत्र पाउनेछैनन् । यो सामान्य कुरा हो प्रतिष्ठान को पत्र बेगर भिसा नै नपाउने भन्ने होइनएक किसिमको सपोर्टिंग डकुमेन्ट कम हुने मात्र हो ।

 

प्रतिष्ठानको पत्र बेगर पनि धेरै कलाकारले विदेश यात्रा गर्ने गर्दछन् त्यो सहयोग रोक्का उनको लागि ठुलो विषय पनि हुँदैन होला किनभने उनले पटक पटक ‘आफू लोक कलाकार नभएको’ जिकिर गरिसकेका छन् र संस्था सँग कुनै लेनदेन या सम्बन्ध नभएकोले संस्थाले आफूलाई निर्देशन दिन नमिल्ने पनि बताउँदै आइरहेका छन् । यो संस्थाले आफू मातहत रहेका कलाकारले गरेको अनुशासन विपरीतका कामको लागि दिएको दण्ड भन्दा पनि दण्ड दिन नपरोस् भनेर संस्थाबाट बाहिर पठाएको विषय मात्र जस्तो हो । किनभने सदस्यता निलम्बन बाहेक अन्य कारबाही गर्ने कानुनी अधिकार प्रतिष्ठानको विधानमा उल्लेख छैन र विधान बाहिर गएर गरेको कारबाही कार्यान्वयन हुने सम्भावना देखिँदैन।

 

अब चर्चा गरौँ बहिस्कारको बारेमा – ‘यो बहिस्कार भन्ने शब्द आम बोलीचालीको भाषामा भन्दा भारतीय पञ्चायतले फैसला गर्ने ‘हुक्का पानी बन्द’ जस्तो होइन र संस्थाले त्यस्तो निर्णय गर्न पनि मिल्दैन । अहिले हुक्का पानी बन्दको निर्णय आएजस्तै हल्ला चलाइएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि भित्री कुरा नबुझी प्रतिक्रिया दिइहाल्ने गरेको देख्न पाइन्छ ।

 

अहिलेको जमानामा कसैलाई कसैले बहिस्कार गर्ने भन्ने प्रश्नै आउँदैन । प्रतिष्ठानले गरेको निर्णय भनेको ‘संस्थागत सहकार्य गरिने छैन’ भन्ने मात्र हो । कसैलाई ‘व्यक्तिगत सहकार्य गर्न बाट रोक लगाउने अधिकार’ प्रतिष्ठान सँग छैन पनि । हरेक कलाकार स्वतन्त्र छन् र आफूले चाहेको कलाकार सँग सहकार्य गर्न पाउँछन् त्यसमा संस्थाले रोक लगाउने या दुर्गेश सँग सहकार्य गर्नेलाई पनि कारबाही गर्ने भन्ने होइन । यहाँ सम्ममा कि प्रतिष्ठानले दुर्गेश सँग सहकार्य नगर्नु भनेर आफ्ना सदस्यहरूलाई निर्देशन दिएको पनि छैन र त्यसो गर्दैन पनि । 

 

संस्थागत सहकार्य नगर्ने’ निर्णयलाई ‘बहिस्कार गरेको भनेर जसरी कुरा बजारमा आएको छ त्यो शब्द चयनमा गल्ती भएको हो । प्रतिष्ठानका आफ्ना औपचारिक कार्यक्रमहरू हुन्छन् । दोहोरी गीत प्रतियोगिताहरूसांस्कृतिक कार्यक्रमहरूझाँकीहरू अनि अन्य औपचारिक र नियमित कार्यक्रमहरू हुन्छन् । जस्तै चर्चित र प्रतिष्ठित कलाकारलाई त्यस्ता कार्यक्रमहरूमा निमन्त्रणा गरिन्छ अतिथि बनाइन्छ अब दुर्गेश थापालाई त्यस्ता औपचारिक कार्यक्रमहरूमा निम्त्याइने छैन ।

 

दोहोरी प्रतियोगिताहरूमा पाहुना निर्णायकको रूपमा कलाकारहरू उपस्थित भएर आफ्ना बिचार राख्ने परम्परा छ त्यस्ता ठाउँमा पनि थापालाई बोलाइने छैन । प्रतिष्ठानले वार्षिक रूपमा अवार्ड कार्यक्रम गर्दै आइरहेको छ । अब दुर्गेश थापा खेलेका भिडियोहरू त्यो अवार्ड कार्यक्रममा समावेश हुने छैनन् । प्रतिष्ठानले भविष्यमा बनाउने श्रव्य दृश्य सामाग्रीमा उनलाई समावेश गरिने छैन ।

 

लोक कलाकार बिचमा विवाद हुँदा या कुनै सिर्जना मा प्रतिलिपि अधिकारको बारे विवाद हुँदा प्रहरीकहाँ या प्रतिलिपि रजिस्टार कार्यालयमा मुद्दा किनाराको लागि छलफल हुँदा प्रतिष्ठानलाई मध्यस्थताको लागि बोलाउने या राय लिने सामान्य प्रचलन छ त्यहाँ प्रतिष्ठानबाट तोकिएको प्रतिनिधि गएर मुद्दा मिलाउन सहयोग गर्ने या राय व्यक्त गर्ने सामान्य प्रचलन छ त्यसबाट कलाकारले राहत महसुस गरेको पनि हामीले अनुभव गरेका छौँ तर अब दुर्गेश थापाका आगामी विवादहरू समाधान गर्न प्रतिष्ठानले औपचारिक उपस्थिति जनाउने छैन ।

 

कलाकार बिमारी हुँदा सानै भए पनि आर्थिक अवस्था कमजोर भएका कलाकारलाई प्रतिष्ठानको ‘कलाकार कल्याणकारी कोष’ ले सहयोग गर्दै आइरहेको छ । एकदमै निम्न आय भएका कलाकारहरूलाई सानै भए पनि भरथेग हुने गरेको छ । दुर्गेश थापालाई प्रतिष्ठानको त्यो सानो सहयोग को आवश्यक पर्ने अवस्था आइ नपर्ला तर संस्थागत सहयोग र सहकार्य नहुने कुरा यहाँ पनि लागु हुन्छ ।

 

अब राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल  र कलाकार दुर्गेश थापा बिच यी माथिका तमाम सहकार्यहरू अर्को निर्णय नभएसम्म हुनेछैनन् ।  अर्को निर्णय भन्नाले यो मुद्दाको पुनरावलोकन नहुने भन्ने हुँदैन । अहिले अनुशासन समितिको सिफारिसको आधारमा केन्द्रीय कार्यसमितिले गरेको निर्णय हो यो । दुर्गेश थापाले अझै पनि आफ्ना कुरा राख्न र संस्थाको दृष्टिकोणमा गलत ठहरिएका कुराहरू सुधार्न या आत्मालोचना गर्न चाहेमा संस्थाले आफ्नो निर्णयमा पुनरावलोकन गर्न नसक्ने भन्ने हुँदैन । संस्था सबैको साझा हो र हिजो न अटाएका मान्छेहरू आज संस्था भित्र छन् आज न अटाएकाहरू भोलि संस्था भित्र हुनेछन् । 

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रीय कार्यसमितिका सदस्य दुर्गा पंगेनीको निजी विचार

 

 साथमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, केन्द्रीय कार्यसमितिले जारी गरेको विज्ञप्ति 







No comments: