DURGA PANGENI

मन परे दिलमा, मन नपरे डिलमा !

Tuesday, January 10, 2017

कम्मरको कोठी ~ जुनेली प्रेम-भाग-२ ...!!


चुच्चो परेको ढुङ्गाको चुचुरोमा टुक्रुक्क बसेकी जुनेलीको आडमा येमान्का साँप्रा भएकी अर्की युवती बसेकी थिई । पुठा पट्टि कहाली लाग्दो भिर छ । तल छ्वांङ्ग परेको कयरो होलाजस्तो ठाममा ढुङ्गाको चुचुरोमा बसेर आफ्नै कन्नापरी फर्केकी जुनेलीको अनुहार भने देखिएको छैन । किन अन्मरिएकि होली हय त्यस्तो डर लाग्दो ठाममा ..! हईकिंगको नाममा कति असजिलो ठाममा चढेकी ! मलाइ लड़छे कि झैँ लाग्यो अनि जुनेली भुङ्ग होलिस्है भनेर मैले टुच्च जिस्क्याएँ । के हो मुर्दार भङ्ग भनेको ..भनेर जुनेली खितिति हाँसी ! साना बच्चा हरू हिँड्न नजानेर लड्नु लाई भङ्ग हुनुभन्छन् .. मैले जवाफ फर्काएँ .. अनि म सानी हुँ त बाउन ... जुनेली फेरी खित्खिताई ...!
००००००
धेरै दिन भएको थियो जुनेली सँग दोहोरो संवाद नभएको । उ यसो कमेन्ट बक्समा झुल्कन्छे मात्र । हुन त दिनभरिमा सामाजिक सञ्जालमा बाक्लै उपस्थिति हुन्छ उसको तर पनि मसँग जम्काभेटको लागि भने साईत् नै पर्खनु पर्छ उस लाइ । साना चोटले उ मेरोमा कमेन्ट गर्न आउँदिन र म पनि गइराख्दिन, साह्रै पातलियो त जुनेली हाम्रो बोलीचाली त किन हो ? मैले उसको ज्यान लाई इसारा गर्दै बैशालु छेड हानेँ । हाईकिंगले ज्यान पातलो बनाउने भनेको बोलचाल पनि पातलियो ! बरु अरू के के पातलो हुँदोरैछ हईकिंगले ? मैले अर्को लट सेक्सिलो लाइन मारेँ ..!
००००००
अचेल जुनेली बोल्दिन ! म पनि बोलाउँदिन ..! कहिले काहीँ प्रतिपदाको जुन झैँ झुल्किन्छे मेरो म्यासेज बक्समा उ । 'ओइ यता सुन न ...'! उसले सुरुमा पठाउने म्यासेज यत्ति हुन्छ ! 'भन न...!' भनेर रिप्लाउछु म । उसले भन्न खोजेको कुरा आजै भन्छे या अर्को हप्ता फेरी त्यै कुरा लिएर आउँछे भन्ने कुरा मैले पत्तो पाउँदिन । यत्ति कुरा भनेर पन्ध्र दिन अलप भइदिन सक्ने केटी हो उ ।
००००००
अचेल उसको र मेरो सम्बन्ध धेरै नै अनौपचारिक छ । हजुर तपाई जस्ता सम्बोधन बाट सुरु भएको हाम्रो मित्रता लाई एक दिन अचानक 'तिमी' मा झारेकी जुनेली अर्को दिन फित्रीक्क 'तँ साले' मा झरी । साह्रै हेपी यार मोटी ले ! म भित्रभित्रै मुर्मुरीएँ । सम्मान गर्दागर्दै मलाई तँ भन्ने? कसरी सकेकी यार ! मुखभरिको जवाफ दिऊँ झैँ लाग्यो ।रिप्लाई लेख्दै थिएँ मेरो कल्पनामा एउटा तरङ्ग उठ्यो । उसले साले तँ भन्दा उसको अनुहारमा रिस थियो की खुसी? क्रोध थियो की मुस्कान? मैले के भन्दा उसले 'तँ साले' भनी ?
००००००
सोच्दा सोच्दै उसको 'तँ साले' संवोधन निकै प्यारो लाग्न थाल्यो मलाई । त्यस दिन उसलाई जिस्क्याउन सायद कुनै हल्का ननभेज जोकको स्क्रिन सर्ट पठाएको थिएँ मैले । उसले पचाई । म त खुसी पो हुनुपर्ने ..."तँ मोटी..!" यत्ति लेखेर म पनि खुसुक्क तँ मा झरेँ ।
००००००
आज बिहान फेसबुकमा लगइन हुँदा जुनेलीको म्यासेज पिलपिललाई रहेको थियो । खोलेर हेरेँ उही "ओइ हेर न" मात्रै रहेछ ! मैले "के हेरूँ ? खोइ देखा न त हेर्छु..!" रिप्लाएर फेसबुक बन्द गरेँ बिहान पाँच बजे । आठ बजे तिर अफिसको बाटो नाप्दै गर्दा म्यासेज टुंग बज्यो "जुनेली सेन्ट यु अ फोटो" को नोटिफीकेशन देखेँ । के पठाई हउ मोटी ले ! मैले हतार हतार म्यासेज खोलेँ । उसको आफ्नै फोटो थियो । कालो ब्लाउज र कालै साडीमा साडीको सप्को टाउको तिर लगेर भित्तामा अडेस लगाएकी जुनेली कति कामुक देखिएकी थिई म शब्दमा बयान गर्न सक्तिन । अथाह प्यास भरिएका उसका आँखा पानी भेटे समुद्र नै रित्याउला झैँ गरेर गहिरिएका थिए । पुरै जिउ ढाकिएको तस्बिरमा कोही यती कामुक कसरी देखिन सक्छ कोही ?
००००००
मेरो कम्मरको कोठी देखीस ? उसले पठाएको अर्को म्यासेज मेरो एकाग्रतामा घन झैँ बज्रियो ! साँच्चै लोभ लाग्दो छ उसको कम्मरको कोठी । खै कम्मरमा पनि मेकअप गरेर कोठी लाई चम्काउँछे की क्या हो उसले । जतापट्टि बाट हेर्दा पनि उसको कोठी नै पहिला देखिन्छ। आकर्षक ठाउँमा रहेको उसको कोठी जिन्स पाइन्ट लगाउँदा समेत देखिन्छ । भगवानले गजपको ठाउँमा कोठी दिएकाछन तलाई जुनेली ! तैँले लुकाउन चाहेर पनि नलुक्ने !! म कोठीको तारिफ गर्दिन्छु ! ईस होला त ...! जुनेली मक्ख पर्छे ।
००००००
यत्ति मै उसको अर्को म्यासेज आयो । ओइ सुन न ..! उसको "ओइ हेर न" बल्ल हेर्दै थिएँ म । अव "ओइ सुन न" आयो ! यो फोटो अश्लील छ र ? हठात् उसले सोधेको प्रश्नको जवाफ दिनलाई पनि मैले त्यो ज्यानमारा फोटो फेरी नियाल्नु पर्ने भो ।
००००००
कसले भन्यो यो फोटो लाई अश्लील ? मैले अश्लील नभएको प्रतिक्रिया दिएँ ! तर कामुक चैँ छ है जुनेली ! मैले मेरो कुरा राखेँ । जुनेली अश्लीलता र कामुकता बिचको अन्तर भन भनेर मलाई धम्क्याउन थाली । सबै किसिमका कामुकता हरू अश्लील हुदैनन र सबै अश्लीलता हरूमा कामुकता भेटिँदैन जुनेली । यो तेरो फोटो कामुक छ तर अश्लील छैन । मेरो जवाफमा जुनेली सन्तुष्ट हुन सकिन । हैन यो फोटो कसरी कामुक छ भनेर प्रश्नका चाङ लगाउन थाली ।
००००००
शरीरको बखान र सुन्दरताको तारिफ कत्ती मन नपराउने जुनेली आज यौटा फोटाको बारेमा किन किचकिच गरिरहेकी छ ? पक्कै केही रहस्य हुनुपर्छ । मैले कुरो खोतल्ने विचार गरेँ । त्यत्तिकैमा फेरी उसको अर्को म्यासेज आयो । ल भन त तैँले त्यस्तो के देखीस र मेरो फोटोलाई कामुक भनिस् ..!
००००००
अव मेरो पारो तातिसकेको थियो । तिम्रा स्तनको अग्र भागले ब्लाउज छेडुँला झैँ गरेका छन् जुनेली ! त्यहाँ आँखा पर्ने जुनसुकै पुरुषले तिम्रो फोटोमा अश्लीलता देख्न सक्छ । साडीको सप्को र ब्लाउजको फेर बिचमा देखिएको तिम्रो कम्मरको छालाको आकर्षण पनि धेरै पुरुषले धान्न सक्दैनन् त्यसैले त्यो फोटोलाई अश्लील देख्न सक्छन् । अथाह प्यासको कारण खडेरीको कुवा रित्तिए झैँ गहिरिएको तिम्रो नाभि जो सुकै पुरुषलाई खुत्रुक्कै पार्न सक्ने स्वरूप धारण गरेर बिचोबिच बसेको छ त्यो नाभि लाई अश्लील देख्ने बग्रेल्ती पुरुष आँखा भेटिन्छन् समाजमा तर मैले कामुक देखेँ । मैले एकै सासमा मेरो जवाफ लेखेर पठाइदिएँ ।
००००००
भित्रको लुगा खुम्चिएर सानो डल्लो परेको हो मुर्दार ! तेरा फुटेका आँखा !! उसले लोल को ईमो जोडेर पठाई.. । त्यो तैँले बुझेको कुरा हो । अव यौटा पुरुषको नजरले हेर जुनेली ! पुष्ट वक्षस्थल ढाकेको ब्लाउज बाहिर लगभग केन्द्र पारेर अर्को बिबिरो उठेको हुन्छ भने त्यो लुगा खुम्चिएरै बनेको भए पनि अङ्गै सरहको मान्यता पाउँछ पुरुष नजर बाट हेर्दा । तँ मर्निङ् वाकमा निस्कँदा अग्र भागमा खुम्चिएको ट्राउजरको मुजा हेरेर अनेक थरी अनुमान लगाउने नजर बग्रेल्ती भेटिन्छन् बाटोमा जुनेली । यो फोटोमा स्तनको मुन्टो अनुमान गर्नु या गरिनु ठुलो कुरो भएन । पुरुष नजर दोषी हो जुनेली तेरो फोटो ठिक छ ।
००००००
तँ स्लिम भ'की होस ? कम्मर हेरेर त त्यस्तै लाउच मलाई ..! मैले जिस्क्याएँ । अँ यार अचेल डाईटिङ्ग गर्ने र हाइकिङ जाने गरिराछु । हेल्थ कन्सियस हुन परो नि यार ..! उसको रिप्लाई आयो । ए ए डाईटिङ्ग र हाइकिङ ले पो तलाई झन् भन्दा झन् च्वाँक बनाईरारैछन त केटी ... मैले बैंशालु छेड हानेँ ..!!
००००००
तँ बोका ...!
००००००
हो यत्ति रिप्लाएर जुनेली फेरी अलप भई !!
००००००

~ दुर्गा पंगेनी ।