DURGA PANGENI

मन परे दिलमा, मन नपरे डिलमा !

Tuesday, May 5, 2020

कलाकार, भोकमरी र राहतको अपेक्षा ।


सामाजिक सञ्जालमा बिस्तारै बहसको सुरुवात हुन थालेको छ । मनोरञ्जनको क्षेत्रलाई रोजगारीको माध्यम बनाएका कला कर्मीहरू लाई राहतको आवश्यकता र त्यसमा सङ्घ सस्थाहरुले खेल्न सक्ने या खेल्नुपर्ने भूमिका के कस्ता हुन सक्दछन् र के हुनुपर्दछ भनेर सामाजिक सञ्जालमा चर्चा परिचर्चा सुरु भएको छ ।

सबैभन्दा पहिला यो महामारीको समयमा वास्तविक पीडित को हो र त्यस्ता पीडितको सङ्ख्या कति हुन सक्दछ भनेर यकिन गरिनु जरुरी छ । कला क्षेत्रमा काम गर्ने न्यून आय भएका श्रमिकहरू त्यस्तो पिडा बाट गुज्रनु परेको हुन सक्दछ । सङ्घ संस्थाहरूले सरकार सँग समन्वय गरेर सबैभन्दा पहिला त्यहाँ सरकारी राहत पुर्‍याउन पहल गर्नु आवश्यक छ । कलाकार बसेका टोलहरूमा पनि सरकारी राहत वितरण भइरहेको हुन्छ । कलाकारले आजको विषम परिस्थितिलाई मध्यनजर राख्दै त्यो राहतमा आफ्नो पनि हक छ भनेर त्यो लिनु पर्दछ लाज मानेर राहत छोड्नु हुँदैन ।

कलाकार भएर पनि सरकारी राहत लियो भनेर त्यो हाँसोको विषय बन्छ कि भन्ने सोच्नु हुँदैन । घरमा अनाज छैन भने राहत अधिकार भित्रको कुरा हो । भोक र लाज सँगै लाग्नु हुँदैन । परिस्थितिको मूल्याङ्कन गरेर अनाज संचितिमा ध्यान पुर्‍याउनु पर्दछ ।

अर्को सबैभन्दा मुख्य कुरा हाम्रा कलाकारहरू या मनोरञ्जनको क्षेत्रमा कार्यरत अन्य कामदार हरूको क्रय शक्तिको अवस्था के छ ? यो प्रश्नको सही जवाफ खोजिनु पर्दछ । यो छोटो समयमै कुनै कलाकारले अनाज खरिद गर्नै नसकेको अवस्थामा पुगिसकेको हो भने भोलि झन् भयावह अवस्था हुन सक्छ । सञ्चित सरम नभएर भोकै भएको हो या क्रय शक्ति हुँदाहुँदै पनि किन्न नसकेर या किन्न नपाएरभोकै भएको हो त्यो कुरा बुझिनु आवश्यक छ ।

कोरोनाले पार्ने दूरगामी प्रभावहरूको बारेमा ठुला ठुला विद्वानहरूले डरलाग्दा प्रक्षेपणहरू गरेका छन् । यसको प्रभाव नेपालमा पनि भयावह हुने आकलन उनीहरूको रहेको छ । सबैभन्दा ठुलो प्रभाव भनेको कुनै कलाकार कोरोना पोजेटिभ भएर आइसोलेसन मा बस्नुपर्दा उनीहरूको स्वास्थ्यको जोखिम र उनीहरूमा आश्रित परिवारका सदस्यको छाक टार्ने लगायत कुराहरू सबैभन्दा पहिला समाधान गर्नुपर्ने हुन सक्दछ ।

पोजेटिभ नभेटिएको अवस्थामा पनि कला क्षेत्रमा आर्थिक मन्दीको सुरुवात भैसकेको छ । करोडौँ रकम प्रवाह भएर कलाकारको हात हात मा पैसा पुग्ने समय हो यो तीज गीत निर्माणको समय । लगानीकर्ता हरूले तीज गीतमा गरेको लगानीबाट निर्देशक, गायक, गायिका, स्टुडियो, वाद्य वादक एरेन्जर, साउन्ड इन्जिनियर, मोडल, स्पट ब्वाई, मेकअप आर्टिष्ट लगायत धेरै जानाको आम्दानी ह्वात्तै बढ्ने समय हो अहिलेको । आजको अवस्थामा तीज गीतमा रकम प्रवाह नहुनु भनेको मन्दीको सुरुवात नै हो यसले सङ्गीत बजारलाई दीर्घकालीन   असर गर्नेछ ।

लोक कालाकारलाई राहत प्रदान गर्न सङ्घ संस्थाहरूले के कस्तो योजना ल्याएका छन् भन्ने विषयमा प्रश्नहरू आइरहेका छन् । तत्कालीन राहतको लागि सङ्घ संस्थाले कुनै कलाकारको लागि सानो राहत उपलब्ध गराउन सम्भव भए पनि दीर्घकालीन असरहरू सम्बोधन गर्न संस्था आफै सक्षम हुँदैन । संस्थाले कलाकारको लागि राहत, उपचार लगायत विषयमा सरकार सँग प्रभावकारी समन्वय गर्न प्रयत्न भने गर्नु पर्दछ ।


तस्विर परिचय नेटवर्क वेबसाइट बाट 

No comments: