DURGA PANGENI

मन परे दिलमा, मन नपरे डिलमा !

Tuesday, May 12, 2020

आउनुस भगवान संग त्यसो नहोस भनेर प्रार्थना गरौँ ।।


सुरुवातमा कतारमा कोरोनाका बिमारी भेटिएको समाचार आउँदा (ती बिमारी इरानमा भेटिएर चार्टर जहाज मार्फत स्वदेश फर्काइएका थिए) यो जस्तो सुरक्षित देशमा कोरोना सजिलै फैलिँदैन भन्ने यौटा आशा मन भित्र कतै न कतै थियो, त्यस्तो आशा पलाउनुका केही कारण हरू थिए-जस्तै-

मास्क र ग्लब्स अनिवार्य गरिएको थियो, सोसल डिस्टान्सिङ अनिवार्य थियो । गाडीमा समेत एक सिट एक सवारी लागु भइसकेको थियो । तिस जना अट्ने गाडीमा १५ जना मात्र चढ्न पर्ने भएको थियो । नियमित तापक्रम जाँच लाई अनिवार्य गरिएको थियो । थोरै शङ्का मात्र लागेमा पनि पाँच दश मिनेट भित्रै एम्बुलेन्स हाजिर भइसक्थ्यो (अहिले पनि हुन्छ) यस्तो युद्ध स्तरको तयारी हेर्दा कोरोनाले कतारमा आफ्नो साम्राज्य यसरी फैलाउला भनेर डराउन पर्ने अवस्था थिएन ।

एक दिन आधिकारिक सूचना जारी भयो, तरकारी बजारमा कार्यरत केही आप्रवासीमा कोरोना देखियो । बजार पूर्णतया बन्द गरेर त्यहाँ भेटिएकालाई आइसोलेट गरियो । फेरी पनि हामी आप्रवासी हरूको मनमा कतार सरकारको त्यो युद्ध स्तरको तयारी देखेपछि तरकारी बजारबाट बाहिर कोरोना निस्कँदैन भन्ने आशा बाकी रह्यो ।

केही दिनमा रङ्गशाला निर्माण स्थलमा देखियो कोरोना जसले सनैया इण्डष्ट्रियल सिटीको १ देखी ३२ नम्बर स्ट्रिट सम्म लकडाउन गरायो । भौतिक निर्माण क्षेत्रका आप्रवासी हुँदै आधुनिक कतार को सान मानिएको कतार एयरवेज मै कोरोना पुग्यो भन्ने समाचार आयो त्यसको भोलिपल्ट देखी जहाज उडानहरू रोकिए । नेपाल पनि लकडाउन मा गयो ।

एड्रेस ट्रेसिङ, शङ्कास्पद बिमारीको क्वारेन्टाइन र प्रमाणित बिमारीको आइसोलेसनमा यहाँको सरकारले कुनै कसर बाँकी राखेको छैन । हामद हस्पिटलको पार्किङ लटमा थन्किएका हजारौँ एम्बुलेन्स अहिले बाटोमा कुदिरहेका छन् । संवेदनशील ठाउँमा एम्बुलेन्स दुई गुना सङ्ख्यामा तैनाथ छन् । फोन गरेको दश मिनेट भित्र सम्पूर्ण सुरक्षा व्यवस्था सहित स्वास्थ्य कर्मी र प्रहरी उद्दारको लागि आइपुग्छन् । अहिलेको कतारको कोरोना विरुद्धको आक्रमण अत्यन्तै तेज छ । छोटो समयमा एक लाख भन्दा धेरै जनाको टेस्ट भएको छ जसमा लगभग २० प्रतिशत कोरोना पोजेटिभ बिमारी भेटिएका छन् ।

शङ्कास्पद बिरामी र पोजेटिभ भेटिएका बिमारी राख्न स्तरीय भिल्लाहरुको व्यवस्था गरिएको छ । बिसौँ हजार पोजेटिभ र हजारौँको सङ्ख्यामा राखिएका शङ्कास्पद बिमारीको लागि खाना देखी सम्पूर्ण न्यूनतम आवश्यकताका सामानहरू सरकार द्वारा नै उपलब्ध गराइएको छ । पोजेटिभ भेटिएर पनि सिकिस्त नभएकाहरू जसलाई हस्पिटलाईज्ड गर्न परेको छैन उनीहरू लाई चौडा खेल मैदानमा फुटबल भलिबल जस्ता गेम खेल्ने व्यवस्था मिलाइएको छ ।

खाना बोकेका गाडीहरू लगातार पहिलो प्राथमिकताका साथ सडकमा दौडिरहेका देखिन्छन् । एम्बुलेन्स र प्रहरीका गाडीहरू त्यसरी नै तम्तयार अवस्थामा छन् । सम्पूर्ण सरकारी संयन्त्र चलायमान अवस्थामा छ । रोड साइडमा गार्डहरू टेम्प्रेचर टेस्ट गनलिएर उभिएका छन् । गन ले ओभर टेम्प्रेचर देखाउने बित्तिकै एम्बुलेन्स आउँछ र रेस्क्यु गरिहाल्छ । कोरोनाबाट हताहतको रेसियो एकदम कम छ । हजारौँ बिमारी निको भइसक्दा जम्मा एक दर्जन मात्र बिमारीले ज्यान गुमाए । यति थोरै सङ्ख्याको मृत्युदर हुनु पनि एक किसिमको सफलता हो ।
कतार सरकारको यो अभुतपुर्व मुभमेन्ट हेर्दा अहिले पनि लाग्छ की कतारमा कोरोना भाइरस छिट्टै पराजित हुनेछ, यहाँ को सरकार आफ्नो सम्पुर्ण शक्ति र ठुलो लगानीका साथ लड्दा पनि कोरोना नियन्त्रण गर्न हम्मे हम्मे परिरहेको छ ।
 यहाँ पनि १०-२०-३० गरेर विस्तारै बढेको हो । पछी दैनीक १००-२०० गरेर बढ्यो र अहिले दैनीक १ हजार माथी को अनुपातमा बढिरहेको अबस्था छ। नेपालमा यसो नहोस अब भगवान संग प्रार्थना गरौँ तर कथं कदाचित नेपालमा पनि दैनिक सयौं या हजारौंको संख्यामा विमारी भेटिन थाले भने त्यो अवस्था कति भयावह हुने होला ...! हाम्रो राज्यको शक्ति र संयन्त्रले कसरी थेग्ला ? सम्झेरै मन डराउछ ।
आउनुस भगवान संग त्यसो नहोस भनेर प्रार्थना गरौँ ।।

दुर्गा पंगेनी  
Qatar confirms two more coronavirus cases: Live updates | News ...

No comments: