DURGA PANGENI

मन परे दिलमा, मन नपरे डिलमा !

Tuesday, May 12, 2020

अब त्यस्ता दिन फर्केर आउलान् जस्तो लाग्दैन


सिँचाई नहुने जमिन लाई हाम्रोतिर बारी या टार भनिन्छ । नेपालका लगभग ९०% बारीमा दुई तिन खेती हुने गरेको थियो । मकै, मकै भित्र कोदो र कोदो सँग सँगै तरकारीका झाल र त्यो सिजन पछाडि फापर, गहुँ या तोरी । यती राम्रो सँग खेती हुने अधिकांश बारीका पाटा बाँझै छन् अहिले । त्यति मात्र होइन बारीका कान्लामा घाँस हुन्थ्यो छेउछाउका रुखमा डाले घाँस हुन्थ्यो त्यसले प्राय सबैका घरका पाल्तु जनावरलाई खुवाउन पुग्थ्यो, सिजन अनुसार बारी घरबारी र खेतका उब्जनीले मान्छे लाई र घर पाला पशुलाई खानाको कमी हुँदैनथ्यो ।

समय बित्दै गयो । काम गर्न सक्ने बलिष्ठ र पौरखी पाखुराहरू गाउँ बाट पलायन हुँदै गए त्यसैले अहिले हाम्रो परम्परागत खेती प्रणाली खर्चिलो हुँदै आयो । गाउँ गाउँ बाट अधिकांश युवाहरू सुनौलो भविष्यको खोजीमा लर्को लागेर विदेश गएपछि उनीहरूका बाकी परिवार पनि विभिन्न बहानामा सहर तिर डेरा सर्ने चलन सुरु भयो । यो प्रथाले  परिवारको विखण्डन त गरायो नै त्यो भन्दा ठुलो नोक्सानी बारीका पाटा र खेतका गरा बाँझै रहन थाले । उत्पादन घट्दै गयो र शून्य प्राय भयो । विदेशमा मेहनत गरेर कमाएको पैसा सहरमा डेरा बसेर खर्च गर्ने काम लाई सुखको परिभाषा भित्र राख्न थालेपछि पहाडी बारी र टार मा पसिनाको थोपो चुहाएर दुख भोग्ने कष्ट कसैले गरेनन् 

यो डेरा र बोर्डिङ परम्परा सुरु भएसँगै बारी मात्र होइन सिँचाई हुने खेतमा दुई पटक धान र गहुँ या तोरीको समेत खेती हुने ठाउँमा समेत खेती गर्ने तरिका फेरिँदै छ । असारे धान जुन अलिकति मोटो चामल फल्छ त्यो खानामा खासै स्वादिलो हुँदैन तर त्यसको उत्पादन धेरै हुन्छ त्यस्ता धान रोप्ने प्रचलन लगभग अन्त्य भएको छ । दुई पटक धान खेती हुने खेतमा एक पटक मात्र रोपाइँ गर्न सुरु भएको छ ।

बारीमा हुने खेतीलाई आकाशे पानी नै प्रशस्त हुन्छ । मकैलाई सिँचाई गरिरहनै पर्दैन, कोदो लाई पनि आकाशे पानीले नै पुग्छ फेरी कोदो रोप्न खेतमा जस्तो पानी सुरक्षणको लागि आली लगाइरहन पनि पर्दैन खासमा धान भन्दा कोदो खेती गर्न सजिलो हुनुपर्थ्यो तर टेक्निकल हिसाबले कोदो मकै पाक्ने बेलामा मकै खेती भित्रै रोप्नुपर्ने भएको कारण केही अप्ठ्यारो चाहिँ पक्कै हुन्छ।

कोदोको खेती घट्दै गयो किनभने कोदोको फाइदाको बारेमा बुझ्ने बुझाउने काम कसैले गरेनन् । पहिला गरिबले बाध्यता बस खाने गरेको ढिँडो अचेल विदेशबाट आयात गरिएको कोदोको पिठो बाट बन्छ र रेष्टुरेष्टमा बिक्छ तर उता कोदो फलाउने हाम्रा बारीका पाटा बाँझै रहेका छन् । त्यही ढिँडो होटेलमा किनेर खाने पैसा कमाउन युवाहरू खाडीमा पसिना बगाइरहेछन् उता बारीका पाटाहरूमा कोदोको ठाउँमा बनमारा झार मौलाइरहेछ ।

पिँडालु, फर्सी, करेला लगायत तरकारी, अदुवा जस्तो नगदे वाली, बोडी, मास, सिल्टमर जस्ता दलहनहरू बारीमा मकै सँगसँगै हुर्कँदै फल्दै गर्थे त्यसलाई न गोडमेल को आवश्यकता थियो न विकासे मलको नै । फर्सी, लौका र स्कुसहरु तेस्रो दर्जाको तरकारी मानिन्थे, पिँडालु अन्य कुरा नपाएको खण्डमा मात्र पकाइने मध्येको तरकारी थियो । कुभिन्डो बिचरा आफै जीवनचक्र पुरा गर्थ्यो त्यसलाई कसैले छुँदैनथ्यो । जुठेल्ना मुनी खुर्सानी र गोलभेँडा नरोपे पनि आफै उम्रेर मौलाइरहेका हुन्थे । फर्सीका मुन्टा काम चलाउ तरकारी थियो । मलखातोमा रोपेको सागका नाङ्ला जत्रा पात हुन्थे । तरकारी खाएर बाँकी रहेपछि त्यसको गुन्द्रुक बन्थ्यो । बारीमा रोपिएको मुला दुई हात मुनी सम्म गहिरिएको हुन्थ्यो। 

अब त्यस्ता दिन फर्केर आउलान् जस्तो लाग्दैन तर पनि आउनुस् भगवान् सँग फेरी एक पटक प्रार्थना गरौँ हाम्रा ती दिन फर्काउनको लागि कोसिस गरौँ । 



No comments: