DURGA PANGENI

मन परे दिलमा, मन नपरे डिलमा !

Saturday, June 20, 2020

सेकेन्ड ओपिनियन र डाक्टरको इगो



संसारभरमा मेडिकल प्राक्टिसको चलन के छ भने उपचार लिने मान्छे ले आफ्नो उपचारको लागि एक जना डाक्टरले गरेको निर्णयलाई ठिक छ की छैन भनेर अर्को डाक्टर सँग परामर्श लिन पाउने अधिकारलाई सेकेन्ड ओपिनियनभन्ने गरिन्छ । डाइग्नोसिस गर्ने क्रममा कुनै डाक्टरले सर्जरी गर्ने निर्णय गर्‍यो तर  बिमारी या बिमारीका आफन्तलाई चित्त बुझेन या उनीहरू त्यो निर्णय प्रति विश्वस्त हुन सकेनन् भने अर्को विशेषज्ञ सँग यसबारेमा राय लिन पाउँछन् । यो अन्तर्राष्ट्रिय प्रचलन हो ।

नेपालको हकमा भने सेकेन्ड ओपिनियनको कुरा गर्ने हो भने डाक्टरहरू को इगो यसरी हर्ट हुन्छ की उनीहरू त्यो पचाउनै सक्दैनन् । आफ्नो विशेषज्ञताको अपमान भएको ठान्छन् र बिमारीका आफन्त सँग रिसाउँछन् या बिमारी लाई ल डिस्चार्ज गर्दिन्छु त्यै डाक्टर कहाँ गएर उपचार गराउनुभनेर धम्क्याउँछन् ।

दोस्रो राय केवल मनोवैज्ञानिक राय मात्र पनि हुन सक्दछ या पुरै सेवा नै दोस्रो राय दिने डाक्टर सँगै लिन्छु भन्न पनि उपभोक्ताको नाताले बिरामीले पाउनु पर्ने हो तर नेपालको हकमा त्यो सम्भव छैन । यौटै अस्पतालमा समेत यौटा विशेषज्ञले जाँचेको बिमारी त्यही फ्याकल्टीको अर्को डाक्टरले छुदैनन यो अझ फरक पाटो छ ।

राय कै हकमा पनि मेरो अनुभव कस्तो छ भने: एक दिन अचानक मेरो दिदीको ढाडमा असह्य पिडा भयो । रातारात एम्बुलेन्स लिएर नर्भिक अस्पताल लिएर आइयो । अहिलेका चर्चित न्युरो सर्जन डाक्टर वसन्त पन्तले जाँचे र एमआरआई गराए । एमआरआई हेरेपछि ल अपरेसन गर्नुपर्छ भने, अर्को दिन पैसा रगत लगायत आवश्यक चिज जोहो गरियो । अपरेसन भयो । सानो बोतलमा अलिकति हड्डी पलाएर नसो च्यापेको र त्यसलाई अपरेसन गरेर निकालेको  भनेर केही मासुका टुक्रा जस्तो दिए । उपचार सकियो तिन या चार दिनमा डिस्चार्ज गरे ।

नर्भिक अस्पतालको खर्च ओहो..! हाम्रो परिकल्पना भन्दा बाहिरको हुने रहेछ । बाहिर पसलमा त्यो समयमा १२ रुपियाँमा पाइने रुमाल उनीहरूको विलमा २०० सम्म लगाएको देखियो तर के गर्नु त्यही तिन रातको झन्डै हाम्रो हैसियत भन्दा माथिको रकम बुझाएर दिदीलाई डिस्चार्ज गराइयो।

अपरेसनको घाउ निको हुन्जेल ढाड खासै दुखेन तर जब अपरेसन गरेको २०-२२ दिन भयो तब पुरानो ढाडको दुखाई आफ्नै लयमा फर्कियो । दिदी फेरी उठबस गर्नै नसक्ने भई, उसलाई ह्विलचेयर चाहिने अवस्था आयो ।

फलो अप को लागि वसन्त पन्तलाई भेट्न खोज्दा कहिल्यै पालो पाइएन, सकिएन । उनले एक पटक अपरेसन गरेपछि बिमारीलाई फर्केरै नहेर्ने रहेछन् । ड्रेसिङको लागि जाँदा या यसै दुख्यो भन्दै पुनः जाँदा पनि उनका जुनियरले मात्रै चेक गरे, डाक्टर पन्त सँग भेट्न सकिएन । जुनियर डाक्टरले तातो पानीले सेक्नुस् समस्या समाधान भएको छ बिस्तारै निको हुन्छभन्दै गए तर त्यो अपरेसनले दिदीको रोग एक रत्ती घटेन ।

टिचिङ अस्पतालमा मैले चिनेका एक जना न्युरोलोजिष्ट थिए । आमा बिमारी भएर लामो समय शिक्षण अस्पताल महाराजगन्जमा बस्नुपर्दा मेरो धेरै डाक्टर सँग चिनजान भएको थियो । तिनै मध्येका थिए डाक्टर सुशील शिल्पाकार । उनीसँग भेटेपछि उनले पुरानो एमआरआई हेरे, फेरी एक पटक एमआरआई नगरी अपरेसन पछाडिको अवस्था के छ यसै केही भन्न नसकिने सुझाव दिए । हामीले अर्को एमआरआई गरायौँ ।

दुवै एक्स-रे जाँचेर हेरेपछि सुशीलले निर्णय सुनाए जुन अत्यन्तै दुखद थियो हाम्रो लागि । जहाँ पुरानो एक्सरेमा समस्या देखिएको थियो त्यो समस्या नयाँ एक्स-रे मा पनि यथावत् नै छ । जहाँ अपरेसन हुनु पर्थ्यो त्यहाँ केही गरिएको छैन तर त्यसको दश एमएम माथि इलामेन्ट खुर्केर निकालिएको छ । यो निर्णय उनले निकै बोझिलो पाराले सुनाए । यो अपरेसन गर्नेको मिस्टेक हो, यसो गरिनु हुँदैनथ्यो तर नर्भिक गएर मैले यसो भनेको भनेर नभन्नु सम्बन्ध बिग्रन्छ भन्ने तरिकाले उनले हामीलाई अन्तिम राय दिए ।

अझ उदेक लाग्दो कुरा त शिल्पाकारले के भने भनेँ, म कहाँ सुरुमै आएको भए म यो अपरेसन नै गर्ने थिइन । तपाईँको हड्डी बढेर नसा च्यापिएको होइन तपाईँको हड्डीको बिचमा रहेको इलामेन्ट च्यातिएको छ । त्यो कम्प्लिट बेड रेष्ट ले निको हुन्छ । रेष्ट लामो तिन या चार महिना लामो पनि हुनसक्छ तर अहिले भएको अपरेसन जस्तो केस हुँदै होइन भनेर ठोकुवा गरे ।

हामीलाई अत्यन्तै रिस उठ्यो । रिस उठेर के गर्नु । ठुलो अस्पताल सँग झगडा गर्ने सामर्थ्य हामी सँग थिएन । फेरी पनि हामी गयौँ नर्भिक डा.पन्तको अपोइन्टमेन्ट त पाइएन फेरी पनि जसोतसो भेट्यौँ र दुइटै एमआरआई देखाएर मैले बुझे सम्मको कुरा डाक्टर पन्तलाई भनेँ । समस्या नै समाधान भएको रहेनछ अब के गर्ने भनेर सोधेँ ।

डा.वसन्त पन्त म सँग यती नराम्रो सँग रिसाए की यो सुझाव कसले दियो? कसले अर्को डाक्टरलाई देखाउन भन्यो? मेरो विश्वास नभएको? मैले टाउको जोडिएर जन्मिएका बच्चाको अपरेसन गरिसकेको छु । मेरो काममा शङ्का गरेर अरूलाई सोध्दै हिँड्ने? जाऊ जसले जे सुझाव दिन्छ त्यै अनुसार उसैसँग उपचार गर भनेर कड्किनु कड्किए । अब म तिम्रो बिमारी छुँदै छुन्न भनेर सन्केर हिँडे ।

हामीसँग हातमा दुई थान एमआरआईका झोला बाहेक केही थिएन । अब डाक्टर शिल्पाकारले भनेझैँ नै गर्ने । घर जाने कम्प्लिट बेड रेस्ट गर्ने र निको हुने भनेर हामी स्याङ्जा फर्कने निधो गर्यौँ । नर्भिक अस्पतालको जेनेरल सर्भिसमा काम गर्ने एक जना चिनेका दाइ थिए । उनलाई कहानी सुनाएँ । यस्तै हो भाइ अब सुशील  डाक्टर साप ले जसो भन्नुभाछ त्यसै गरम यिनीहरू सँग झगडा गरेर सकिँदैन भनेर उनले समेत सम्झाए ।

गल्ती पनि उनैको, गलत अपरेसन गर्ने पनि उनै, अरूलाई सोधेको भनेर रिसाउने पनि उनै । अन्यायमा परेका बिमारीको सुनुवाइ कतै नहुने रहेछ । दोस्रो राय त कानुनले नै दिएको अधिकार हो । बिमारीले लिन चाहेको दोस्रो रायमा आफ्नो कमजोरी देखिन्छ जस्तो गरेर डाक्टरहरू किन तर्सिन्छन् मैले कहिल्यै बुझ्न सकिन । हामी यसै घर फर्कियौं र केही घरेलू उपचार गरियो तर समय संगै दिदीको रोग पनि डा. सिल्पाकारले भने जसरी नै निको भयो ।

धेरै पटक म सेकेन्ड ओपिनियन पछि बिमारीको अवस्था नै परिवर्तन भएको देखेको छु । यो अलि पुरानो कुरा हो । मेरो बुबाको मिर्गौलामा पत्थरी देखियो । उपचार बारे बुझ्दै जाँदा  भर्खर आर्मी अस्पतालमा मेसिनले फोरेर मिर्गौलाको पत्थरी निकाल्ने उपचार पद्धतिसुरु भएको रहेछ । बुबाले  अपरेसन गर्न भन्दा अपरेसन नगरी निस्कन्छ भने त्यही तरिकाले उपचार गर्ने रहर गर्नुभयो । हामीले महिनौँ  महिना हण्डर ठक्कर खाइ सकेपछि त्यो पद्धतिले पत्थर ननिस्कने निर्णयमा डाक्टर आफै पुगे, हाम्रो पैसा सकियो ।
   
त्यो समयमा वीर अस्पतालमा मिर्गौला रोग विशेषज्ञ थिए डाक्टर अर्जुन देव भट्ट ।  बुबाको मिर्गौलाको असफल स्टोन ब्लाष्टपछि वीर अस्पतालका मिर्गौला विशेषज्ञ डा. अर्जुन देव भट्टले दिएको राय सुन्दा यो भन्दा अगाडी भएको खर्च पुरै गर्नु नै नपर्ने उपचारमा गएको रहेछ भन्ने बुझियो किनकि  यो साइजको स्टोनमा ब्लाष्टको असर नै नहुने रहेछ । त्यसपछि डाक्टर भट्टले अपरेसन गरेर पत्थर निकालेपछि अहिलेसम्म बुबाको मिर्गौलामा कुनै समस्या आएको छैन त्यो अपरेसन भएको पच्चिस वर्ष भन्दा बढी भैसकेको छ ।

भाइको मुटुमा प्वाल परेछ । डाक्टरलाई देखाइयो । यौटा नयाँ प्रविधि आएको छ काट्नु चिर्नु पर्दैन, त्यो प्वाल लाई कुनै ढक्कनले बन्द गराइदिने नयाँ पद्दती हो नेपालको लागि । म प्र्याकटिस गरिराछु, भाइ बल्ल २१ वर्षका भएछन् । बिहे पनि नभको केटाको छातीमा यती ठुलो घाउ किन पार्नु । ओपन हर्ट सर्जरी रिस्की हुन्छ त्यसैले चिरेर अपरेसन नगरौँ त्यै यन्त्रको सहायताले प्वाल बन्द गर्दिम सजिलो छ भन्नुभयो ।

मलाई खासै विश्वास लागेन । एक त भर्खरै सुरु भएको प्र्याकटिस त्यसमाथि अपरेसन भन्दा खर्चिलो पनि रहेछ । मेरो बुवाको मुटुमा समस्या हुँदा अपरेसन गरेका डाक्टर भगवान् कोइराला मनमोहन कार्डियो सेन्टर टिचिङ अस्पतालमा रहेछन् । त्यहाँ गएर दोस्रो राय लिइयो । पहिलो डाक्टरको रायको ठिक विपरीत भगवान् कोइरालाको राय आयो ।
त्यो प्र्याकटिस मैले पनि गरिराछु तर अपरेसन जस्तो भरपर्दो त्यो नहुने रहेछ । अस्ति एक जनाको त्यही गरेको सेप्टिक भएर झन्डै बिमारी गएन। पछि फेरी त्यो निकालेर अपरेसन नै गर्नुपर्‍यो । भाइ उमेर कै छन्, देखिने घाउको भन्दा पनि भित्रको समस्याको समाधान बलियो सँग हुनुपर्‍यो । चिन्ता नगर्नु भर्ना हुनु म एक दुई दिनमा ल्याब रिपोर्ट आएपछि ओटी डेट निकाल्दिन लगाउँछु, निको हुन्छ, चिन्ता नगर्नु । भाइको छातीमा स्टेथेस्कोप लगाउँदै डा.भगवानले भने । केहिछैन अपरेसनको लागि रेडी हुनु ।

हामीले अपरेसन गराइयो । भाइको उपचार सफल भयो । मुटुको अपरेसनको छ महिना नियमित औषधी खाएको भाइले त्यसपछि प्रेसर या हर्ट सम्बन्धी कुनै औषधी खानु परेको छैन र डाक्टरले औषधि सिफारिस पनि गरेका छैनन् । सेकेन्ड ओपिनियन नलिएर प्लास्टिकको ढक्कनले मुटुको प्वाल बन्द गरेको भए जिन्दगी भरी औषधी खानुपर्ने बताएका थिए डाक्टरले।

मलाई पछुतो यही कुराको छ की, आमाको मिर्गौलाको उपचार गर्दा मैले सेकेन्ड ओपिनियन लिने मौका पाइन..यो कथा फेरी पछि लेख्नेछु ।- धन्यवाद ।

तस्विर: गुगल 


No comments: