DURGA PANGENI

मन परे दिलमा, मन नपरे डिलमा !

Saturday, July 11, 2020

गीत : ‘मायालु आजैलाई’-ठूलो लगानीको कमजोर भिडियो ।

दुर्गा पंगेनी :-
गीत समिक्षा  : मायालु आजैलाई-ठूलो लगानीको कमजोर भिडियो ।
प्राय सर्जकहरूका गीतहरू प्रतीक्षा गरिएको हुन्छ ।  जस्तो कि वसन्त फिल्म्सका प्रोप्राइटर ईश्वर काफ्ले पाल्पाली ले आफ्नो कम्पनीले नयाँ गीत बनाउँदै गरेको र त्यो गीत प्रति आफू निकै आशावादी रहेको बताइरहँदा मैले त्यो गीतको निर्माणमा संलग्न रहने कलाकारहरूको बारेमा पनि चासो राखेको थिएँ । चर्चित सर्जक प्रह्लाद सुबेदीको शब्द संयोजनमा गीत ल्याउन लागेको काफ्ले ले बताए सँगै यो गीत मेरोलागि प्रतीक्षाको गीत बनेको थियो  ।

निराश बनाउने गीत : महत्त्वपूर्ण कुरा भनेको अहिलेको समयका चर्चित सर्जक र मनग्य लगानी गर्ने कम्पनीको सहकार्य हुनु भनेकै बेग्लै खाले संयोग हो । विरलै हुने यो संयोगले दिने सृजना पनि पक्कै दर्शक को मन छुने खाले नै हुनुपर्छ भन्ने मेरो विश्वास रहेको थियो । किनभने लगानी र सही सृजनाको भेट विरलै हुने गरेको देखिन्छ ।  जहिले पनि एक जना शुभचिन्तक को चाहना के हुने रहेछ भने यस्ता कालजयी सृजना दिँदै आएका स्रष्टा र लगानीकर्ता ले सहकार्य गरेपछि त्यो आउट पुट पनि ऐतिहासिक नै आउँछ भन्ने सबैको चाहाना हुने रहेछ । तर वसन्त फिल्म मार्फत आएको मायालु आजैलाईभन्ने गीतको भिडियोले आशा गरे अनुरूप उत्साहित बनाउन सकेन ।

शब्द :-  प्रह्लाद सुबेदीको शब्द संयोजन या लेखनको म सुरुवाती समय देखिकै फ्यान हुँ । उनका धेरै गीतहरू मैले निरन्तर सुन्दै आइरहेको छु । यो गीतमा भने खुलेर पिरती लाम्ला, घरमै छोडी आम कि त लाजै लाईथेगो भन्दा बाहेकका शब्दहरूले श्रोताहरू लाई गीतमा अल्झाएर राख्ने सामर्थ्य बोकेका छैनन् । अनुप्रास मिलाउनको लागि अङ्ग्रेजी शब्दको प्रयोग गरेर समरीको पछाडि नमरीटाँस्नुपर्ने अवस्था आइपरेको रहेछ । आम रूपमा भन्दा हतारमा तयार भएको सृजना जस्तो सुनिन्छ । उनले सरल तरिकाले काम चलाऊ शब्द पस्केका छन् ।

लय, भाका, सङ्गीत :  लय नयाँ छ । खासै पुराना गीत सँग प्रभावित भएको जस्तो लाग्दैन । अचेल लोक भाका एक अर्का सँग जुधेको भनेर धेरै चर्चा चल्ने गरे पनि खेम सेन्चुरी को  यो भाका  माथि त्यस्तो आरोप आउने सम्भावना देखिँदैन । भाका र गायकी मनछुने छ तर भाका निकै हिट हुने र जनजिब्रोमा झुन्डिने खालको भने होइन । गीतमा केही बेर उभिएर सुनिरहूँ लाग्ने मिठास छ तर गाउनको लागि भने असजिलो छ। लय सुमधुर भए पनि जन जिब्रोमा ट्याक्कै झुन्डिने र जनबोलीमा ठ्याकै बस्ने भाका भने यो होइन । भरपुर मिठास र कर्ण प्रियताको बाबजुद यो भाका  लोकले गाउनको लागि असजिलो छ । गाउनको असजिला गीत पनि हिट हुन्छन जस्तै ‘राम्दी पुल’ गाउनको लागि असजिलो भएपनि हिट छ तर यो गीत सुपर हिटम्याटेरियल चाहिँ होइन ।

स्वर :  खेम सेन्चुरी र शान्ति श्री परियार : खेम सेन्चुरीको  स्वर सधैँ झैँ राम्रो छ । अन्य गीतमा भन्दा यसमा खेम सेन्चुरी ले गायकीमा निकै मेहनत गरेका छन् र बडो मिहिन पाराले सुर ताल सँग खेलेका छन् गहिरोसँग । गायिका शान्ति श्री परियारको स्वर सधैँ झैँ उत्कृष्ट छ । गीतमा गम्भीर किसिमको स्वर र गायकी छ । खोट लगाउने ठाउँ छैन तर खेम सेन्चुरीको ठाउँमा कोही चल्तीको गायकले यो गीत गएको भए स्वाभाविक रूपमा यसको भ्यु मा असर पर्ने थियो ।


भिडियो : निर्माताले आफू निकै आशावादी रहेको भनेको गीतको भिडियो निर्माण पक्ष एकदमै कमजोर छ । भिडियो को सुरुवातमा राखिएको अदालत को सेट र त्यहाँ गरिएको अभिनय नितान्त बनावटी र अनावश्यक जस्तो देखिन्छ । कलाकारहरूले बडो बनावटी अभिनय गरेको कारण  त्यो अदालतको  सेट अस्वाभाविक लाग्छ । त्यो बाहेक को नृत्य समेटिएका फ्रेम हरू पनि हेरिरहूँ लाग्ने छैनन् । गीत लाई सर्जकको कथामा बगाउन खोजेजस्तो देखिन्छ त्यसैले होला  अदालतमा सर्जकलाई सिर्जना कर्ताभनेर फैसला सुनाइएको छ । यही गीतका हरेक अन्तरालाई सर्जकको जीवनकै अध्यायको रूपमा प्रस्तुत गरेर भिडियो ले प्रह्लाद सुवेदीको आजसम्मको प्रमोसन गर्न खोजेको होला तर समग्रमा भिडियोले उनको कामको अवमूल्यन गरेको जस्तो देखिन्छ ।

अन्य : ड्रेस डिजाइन मध्यम छ । मेकअप ठिकै  छ । लोकेसन, सुटिङ  सेट कमजोर छ । मनोरम दृश्य हरू कैद गरिएका आउट डोर लोकेसन हरू छैनन् । धेरै ठुलो स्केलमा खिचिएको छैन जम्मा आठ आठ जना कोरस को जोडी घुमाएर गीतलाई गरिब बनाइएको छ । लगानी अनुसार निर्देशन क्रान्ति केसीले मेहनत गरेकै भएर यत्तिको भिडियो बनेको हुनुपर्छ । कोरस मा लाग्ने खर्च नायिका निता ढुङ्गाना तर्फ लगानी भएको कारण कम कोरस राखेजस्तो देखिन्छ । नत्र ठुला लगानीका भिडियोहरुमा यथेष्ट कोरसहरू नाचेको देख्न पाइन्थ्यो । बिच बिचमा निता ले गरेका नृत्यका केही छोटा स्टेप हरू चाखलाग्दा छन् निता सँग मोडल ओबी रायमाझी को जोडी राम्रो देखिएको छ ।

निर्देशन: निर्देशक क्रान्ति  आशा लाग्दा निर्देशक हुन्  । उनले बनाएका धेरै  भिडियोहरु लोक दोहोरीको क्षेत्रमा चर्चित भएका पनि छन् तर यो भिडियो उनको करियर को उत्कृष्ट भिडियो भने होइन । आशा गरौँ भोलिका दिनमा उनले लोक गीतका भिडियो मार्फत मनोरञ्जन क्षेत्रलाई अझ नयाँ उचाइ दिनेछन् । यो गीतको निर्देशन पनि उनले आफ्नो तर्फबाट राम्रो गर्ने प्रयास गरेका छन् ।   यो भिडियो लाई एक्स्ट्रा अर्डिनरिभन्न अथवा असाधारण राम्रो भिडियो भन्न मिल्दैन । यो क्रान्तिको काम चलाउ भिडियो हो ।

युट्युब च्यानल र डिजिटल प्लेटफर्ममा गीतको पर्फर्मेन्स को बारेमा, भ्युज, लाइक,डिसलाइक, सेयर, कमेन्ट लगायत पब्लिक इन्गेजमेन्ट को बारेमा कुरा गर्नु पर्दा यो यौटा मध्यम स्तरको गीत हो । यसको भिडियोले दर्शक लाई अल्झाएर राख्न सक्दैन । 

समग्रमा यो गीत (मायालु आजैलाई’) राम्रो र कर्णप्रिय र पछिसम्म सम्झीइ रहनुपर्ने गीत हो गायकी र लयका हिसावले  ‘अब्बल’ या  ‘सुपर हिट’ गीत भएपनि भिडियोका हिसावले हिट म्याटेरियल भने होइन । एक महिनामा दस देखि पन्द्र लाख सम्म भ्यु जाने अनुमान गर्न सकिन्छ तर यसको करोडौँ भ्यु जान्छ भनेर आशा गर्न सकिँदैन । 

यो गीत माथि गरिएको लगानी मार्फत वसन्त फिल्म्सले आफ्नो च्यानल स्थापित गर्न सक्नुपर्ने हो । लगानी बराबरको युट्युब रिभेन्यु आशा गर्न त सकिँदैन तर यस गीतले च्यानलमा सब्क्राईबर ह्वात्तै नबढाए पनि गीतको लोकप्रियता संगै दश लाख जति भ्यु जाँदा एक प्रतिसत् को दरले च्यानलमा बढोत्तरी हुन सक्छ ! त्यो अनुपात सह्रानीय मान्नुपर्छ साथी भाइ सँगको सहकार्यका रूपमायो गीतमा गरिएको लगानी सम्झनाको लागि मात्र राम्रो होला ब्यबसायिक रूपमा नोक्सान गराएको छ । यो गीत लाई  अब्बल सर्जक प्रह्लाद सुबेदीको मध्यम कोटीको सृजना हो भनेर भन्दा या मूल्याङ्कन गर्दा यो गीतमाथि अन्याय हुँदैन, गायक खेम सेन्चुरी को लागि भने यो लय र यो मिहिन गायकी कोशे ढुंगा बन्न सक्छ, किन भने लय र गायकी नै यो गीत चल्नुको मुख्य आधार हुन्  धन्यवाद नमस्कार

No comments: