DURGA PANGENI

मन परे दिलमा, मन नपरे डिलमा !

Sunday, November 1, 2020

म गायक !

म गायक !
शब्दको तिस हजार
लयको तिस हजार
पैसा तिरेर एरेन्जरको पाउमा
अर्को तिस चढाउँछु !
फेरी तिस स्टुडियोलाई बुझाएपछि
अरु काम अगाडी बढाउँछु!
ट्वाङ्ग मादल बज्छ मेरो नाममा
अब मेरो नामको किबोर्ड चलो
भ्वाईलिन बज्यो
मैले ट्र्याकमा स्वर भरेँ र मक्ख परेँ
त्यसैले गर्वका साथ भन्छु
हो म एक गायक हुँ ।


गायिका लाई
उसको गच्छे अनुसार
भेटी चढाएर स्वर किनेँ
मेरो स्वरमा गायिकाको स्वर मिसियो
बाजा बजाउनेको ताल मिसियो
लय मिसियो
अनि अलिकति
अटोट्युनको करामतमिसियो
र बन्यो यौटा ठिक्कको गीत
म त अलौकिक र जादुमय नै भन्छु
सुमधुर र ऐतिहासिक नै मान्छु
तर दर्शक कस्तो मान्छन् कुन्नि
जसले जस्तो सुकै मानोस्
म खुसी छु मेरै खर्चमा झमझम बजेको
यौटा दश मिनेट लामो गीत सुनेर
म आफैमा खुशि हुन सक्ने प्राणी हुँ
हो त्यसैले म गायक हुँ ।


निर्देशकको पाउमा
तिन लाख चढाएर
हिरो हुन आफ्नै रहर बढाएर
हिरोनी लाई चालिस हजार थप तिरेर
आफै प्रोड्युसरको ट्याग भिरेर
म तम्सिएँ
मेरो कालजयी गीतको भिडियो बनाउन
ऋणको ग्राफ बढेर उकालो लाग्यो होला
तर मेरो रहरले ओर्लने छाँटकाँट देखाउँदैन
र त तिर्छु परे जती रकम खुरुखुरु
अनुहारमा मेकअप पोतिदा
हिरोनीको कम्मरमा अलिअलि हात जोतिदा
बिछट्टै रमाउँछु म..
रहरहरूले रोक्न नसकेको मनुष्य हुँ
हो त्यसैले म गायक हुँ !

काम अझै सकिएको छैन
एक छिन टुसुक्क बसिएको छैन
भिडियो तयार छ,
धन्यवादमा अनुहार देखाउन
केही थान रहरी चन्दादाता खोज्दै छु
किनभने
भिडियो बन्दाको बिल तिर्नै बाकी छ
अब अपलोड गर्ने कता? सोच्दै छु
गीतकार आफै माग्छन्
सङ्गीतकार पनि आफै माग्छन्
तर गतिलो कम्पनी
मलाई देखो की उल्टो भाग्छन्
जसो त्यसो अपलोड गर्ने हो
अमेरिका बाट ठुलेले
बुस्ट गर्दिन्छु भनेको छ
मेरै खल्ती पनि
बुस्टको लागि तयार बनेको छ
कहिले करोड क्लबमा छ मेरो गीत भनेर मक्ख पर्छु
कहिले ट्रेन्डिङमा छ मेरो गीत भनेर अभिमानी बन्छु
फेरी पनि मेरो हातमा हात लाग्यो सुन्ना मात्रै छ
हो त्यसैले म भन्छु
म रहरी हुँ
हो म गायक हुँ !!

                                        -डोरी लाउरे उवाच:!!

 

 


 

 

No comments: