DURGA PANGENI

मन परे दिलमा, मन नपरे डिलमा !

Wednesday, November 4, 2020

शब्दमा लोकप्रिय गीतकार रमेश बिजीले मुटु नै निकालेर राखेको जस्तो प्रतीत हुन्छ

शब्दमा लोकप्रिय गीतकार रमेश बिजीले मुटु नै निकालेर राखेको जस्तो प्रतीत हुन्छ । यौटा सिनेमा तयार हुन सक्ने सिङ्गो कथा समेटिएको गीत, आजको यो प्रतिकुल परिस्थितिले उब्जाएका जटिलतालाई माला जस्तै शब्दमा उनिएको छ गीतमा । देश, काल, परिस्थिति, समाज, आमा, परदेश, रहर, बाध्यता अनि कर्म, परिवार, दुख पिडा र बाच्ने उच्चतम रहर, मृत्युको शाश्वत सत्य.....सबै कुरा ! गीतकार रमेश बिजीको उत्कृष्ट गीत मध्ये यो गीत पनि सूचीकृत हुनेछ।


वरिष्ठ सङ्गीतकार सुरेश अधिकारीले गीतकारका शब्दमा सुमधुर लय भरेको अर्को उत्कृष्ट धुन हो । ओजपूर्ण मिठासले भरिपूर्ण छ गीत । एक धर्को सिन्दूर के हो र, त्यो त पखालिन सक्छभन्ने गीतको सङ्गीतमा मन्त्रमुग्ध भएको म यो गीतको लागि सृजित धुनमा पनि उत्तिकै मदहोस भएको छु ।

राज सिग्देल को स्वरको मिठास वर्णन गरेर साध्य छैन । उनी भाइरल हुने गीत गाउदैनन् होला तर लामो साधनाले खारिएका उनका प्राय सबै गीत कर्णप्रिय हुन्छन् । भिडियोमा पनि निकै मिहिनेत गरिएको छ । उषा रजक फिचर्ड भिडियोले गीतको भावलाई दर्साउन कुनै कसर वाकी राखेको छैन ।

तर पनि, यति दिग्गज व्यक्तित्वहरूको मेहनतले तयार भएको यो अब्बल सृजना किन दर्शकको नजरमा पर्न सकेन ? बिन्दबासिनी म्युजिक जस्तो ठुलो प्लेटफर्म मा आएको यो गीत भाइरल हुनुपर्ने हो तर सार्वजनिक भएको एक हप्ता भइसक्दा समेत गीतले बिस हजार मात्रै दर्शक पाएको छ ।

आखिर किन ? हामी दर्शकहरू कस्ता सृजनालाई समय र महत्त्व दिइरहेका छौँ  ? कस्ता भिडियो हेर्ने बानी परेका छौँ हामीहरू ? शब्द र सङ्गीत सुनेर त्यसको मर्मलाई महसुस गर्न सक्ने श्रोताहरू घट्दै गइरहेको हो कि भाइरलकन्टेन्ट मात्र हेर्न बानी परिसके दर्शक हरू ? यस्तै यस्तै सोच्दा सोच्दै मा जन्मेको माटो छोएर मर्छुभन्ने लाइन दोहोरिएर बज्यो...!! 

-·       दुर्गा पंगेनी 

No comments: