DURGA PANGENI

मन परे दिलमा, मन नपरे डिलमा !

Thursday, May 10, 2018

ओलीभक्त हरूको सम्भावित दुर्दशा


दुर्दशा भन्ने शब्द परिस्थिति जनाउने शब्द हो । दशा अर्थात् अवस्था र दुर्दशा अर्थात् दुःखी अवस्थाको पराकाष्ठा । महाभारत कालमा पाण्डु पुत्रहरूलाई दुर्दशा लागेको थियो। समय प्रतिकूल हुनु, आफन्तबाट त्यागिएर बन वास जानुपर्ने अवस्था आइपर्नु र आफ्नै मतिहिनाताको कारण आफ्नै श्रीमतीको अस्तित्वको रक्षा गर्न नसकेर शत्रुको अगाडि लाचार-लम्पसार हुनुपर्ने अवस्था आइपर्नुलाई पाण्डव हरूको दुर्दशाभनेर बयान गरिएको छ।

नेपाली राजनीतिमा एक दिन कस्तो समय आउने छ की एमाले नेताहरूद्वारा बोलिएका केही शब्द र केही घोषणाहरूको कारण त्यो पार्टीका कार्यकर्ता र तल्लो स्तरका नेताहरू समाजमा मुख देखाउन नसक्ने अवस्थामा पुग्नेछन् । कतै गाउँलेहरूले पानीजहाज र रेलका कुरा गरेको सुने भने कुन दिनमा ओलीको मुखबाट यो शब्द फुत्किएछभनेर एमालेहरू नै भित्तामा आफ्नो पुर्पुरो ठोक्नेछन्। कम्युनिष्टहरुलाई दिने गाली जस्तै हुनेछन् -तुइन, पानीजहाज, रेल, ग्यास पाइप, हावाबाट बिजुलीलगायत घोषणाहरू । अवस्था यही रहेमा कमरेड ओलीले आम कम्युनिष्टहरुलाई समाजमा घुलमिल हुनै नसक्ने बनाएर छोड्ने निश्चित जस्तै भएको छ।

दूरदराज र दुर्गममा एमालेको राजनीति गर्ने युवा कम्युनिस्ट नेता र कार्यकर्ताहरू बाटोमा हिँड्दा -उ रेल वाला नेता आयो” “उ पानीजहाज वाला गफाडी आयोभनेर एमाले समर्थकहरू मजाकको पात्र बन्नेछन् । कोही कतै पुग्न ढिलो गर्‍यो भने तुइन हटाएर केबलकार नै जोड्न थाल्यो क्या हो साह्रै ढिलो पो गर्‍यो त भनेर मजाक गरिने छ । किन ढिलो आइस ? रेल छुट्यो र ? भनेर ढिलो आउने कम्युनिष्टहरुको यो समाजले दोहोलो काढ्ने निश्चित छ।

ओलीको योजना विहीन घोषणाहरूलाई समर्थन गर्ने जुन तदारुकता र इच्छा शक्ति एमाले कार्यकर्ताहरूले अहिले देखाएका छन् । त्यही तदारुकता र इच्छाशक्ति ओलीका घोषणाहरू असफल हुँदा उनको प्रतिरक्षा गर्न पनि देखाउनै पर्ने हुन्छ। त्यसको उदाहरण महेश बस्नेतले दिएका छन्। पानीजहाजको विषयमा मजाक गर्नेलाई साइबर क्रईम कानुन अन्तर्गत कारबाही गरिनुपर्छ भन्ने अभिव्यक्ति दिएर उनले भविष्यमा ओली वाणीको प्रतिरक्षा एमालेहरूले कसरी गर्नेछन् भन्ने उदाहरण पेस गरेका छन् ।

भोलिको दिनमा पानीजहाज किन आएन भनेर कसैले प्रश्न गर्‍यो भने एमालेहरू त्यसरी प्रश्न सोध्नेको करङ भाँचिने गरी ठोक्न तम्तयार भएर बस्नुपर्ने अवस्था सृजना हुने देखिन्छ । रेल किन आएन भनेर सोध्नेलाई थुन्न छुट्टै थुनुवा कोठाको आवश्यकता नपर्ला भन्न सकिँदैन। हेर्दा हेर्दै हाम्रो देशमा ओली बिरोधिहरुलाई थुन्ने बेग्लै जेल नबनाई नहुने अवस्था देखिन्छ । विरोध त हुन्छ नै, ओलीका हरेक उडन्ते घोषणाहरूप्रति व्यङ्ग्य हुनेछन् । घोषणा अनुसार काम नहुने बित्तिकै समाज चुप लागेर बस्दैन । किनकि सिङ्गै समाज ओलीको भक्ति गानमा रमाउने खाले छैन ।

एमाले कार्यकर्ता र ओलीका सिपाहीहरू जनताले हावाबाट बिजुली निकाल्ने विषयमा मजाक गर्दा पनि प्रतिरक्षामा उत्रनुपर्नेछ। घरघरमा चुल्हा चुल्हामा पाइप मार्फत ग्यास भनेका छन्। सिलिन्डर युगको अन्त्य हुनेछ भनेका छन् र सबैलाई थाहा छ कि अवस्था यही रहिरहेमा यो सरकारले तोकिएको समयमा कुनै पनि काम पुरा गर्ने छैन। यो कुरा प्रति पनि व्यङ्ग्य त हुने नै छ। त्यति बेला पनि ओलीको प्रतिरक्षा गर्न कार्यकर्ता हरू तम्तयार भएर बस्न पर्नेछ।

चाइनाबाट रेल ल्याउँछु भनेका छन्, काठमान्डुमा मोनो रेल चलाउँछु भनेका छन्, चाइनाबाट रेल आएन भने पनि ओलीले व्यङ्ग्य सहनुपर्नेछ । काठमाडौँमा मोनो रेल चलेन भने पनि व्यङ्ग्य त गर्ने नै छन् जनताले । कथंकदाचित रेल आयो तर रेलमा ल्याउने लाने सामान भएन भने पनि ओलीप्रति तिखा व्यङ्ग्यहरू हुनेछन्। अझ त्यस्ता ठुला परियोजनाको कारण देश दीर्घकालीन नोक्सानमा गयो र परियोजना असफल भयो भने त ओली प्रति व्यङ्ग्य कति हुनेछन् कति। त्यो अवस्थामा पनि कार्यकर्ताले यसरी नै ओलीको पक्षमा आवाज बुलन्द गरिरहलान् ?

त्यसरी नै ओलीको प्रतिरक्षामा कार्यकर्ता सिपाही बनेर उभिई रहलान्  भनेर अनुमान गर्न पनि गाह्रै छ। समाजले गरेको व्यङ्ग्य सहन नसकेर धेरै कार्यकर्ता पलायन हुनेछन् अथवा कार्यकर्ताको समाजमा मुखै देखाउन नहुने गरी दुर्दशा हुनेछ। त्यो भन्दा बाहेक आन्तरिक किचलो यसरी बढ्ने छ कि ओलीका कार्यकर्ताहरू आपसमा विभाजित हुनेछन् । त्यसको मुख्य कारण भनेको भाइ भतिजावादबाट सुरु हुनेछ ।

सामाजिक सञ्जालमा उग्र रूपमा प्रधानमन्त्रीको समर्थन गरेको र उनको आलोचनाको उग्र प्रतिरक्षा गरे बापत केही उग्र कार्यकर्ताहरूलाई सरकारले पुरस्कृत गर्नेछ र केही उस्तै समर्थक हरूले सोचेजस्तो पुरस्कार पाउने छैनन् अनि उनीहरू आपसमा भिड्न सुरु गर्नेछन् । उग्र समर्थकहरू स्थायी समर्थक  हुँदैनन् । लाभको लागि समर्थन गरिरहेका छन् भन्ने कुरा ओलीले राम्रो सँग बुझेका छन् । ती उग्रहरूलाई यो कार्यकाल भरी समर्थक बनाइराख्नको लागि भए पनि उनीहरूलाई लाभको पद दिनै पर्ने हुन्छ । त्यसपछि राजनैतिक नियुक्तिको खेल सुरु हुनेछ ।

आफ्ना सबै उग्र समर्थक हरूलाई राजनैतिक नियुक्ति दिन सम्भव हुँदैन । राजनैतिक नियुक्ति पाएको कार्यकर्ताले पदीय मर्यादाको लागि भए पनि ओलीको उग्र समर्थन र प्रतिरक्षा गरिरहन मिल्दैन त्यो बेलामा नियुक्ति नपाएका र कुनै पनि सोचेजस्तो लाभ लिन नसकेका चाटुकारहरूले ओलीको भक्ति गान को साटो उनकै विरोध गर्न सुरु गर्नेछन् । यसरी आपसमा विभाजित भएर ओलिगण अर्को दुर्दशा को दैलोमा पुग्नेछ 

जसरी आफ्नै गल्तीको कारण परिस्थितिसँग जुध्न नसकेर, कौरवहरूको प्रतिवाद गर्न नसकेर, पाण्डवहरूले द्रौपदीको चीरहरण लाचार भएर टुलुटुलु हेरिरहनु परेको थियो र उनीहरूको दुर्दशा भएको थियो त्यसरी नै ओलीका उडन्ते घोषणाको कारण उनका कार्यकर्ताहरू आफ्नै सिद्धान्तको प्रतिरक्षा गर्न समेत नसक्ने अवस्थामा नपुग्लान् भन्न सकिँदैन । त्यसैले ओलीलाई अहिल्यैदेखि सम्भव हुने कुराहरू मात्र बोल्न लगाउने कि ? कार्यकर्ताहरू पनि भोलि लाभको पदमा जान नपाउँदा यसरी नै उग्र समर्थन गरिरहन सकिँदैन भन्ने बुझेर अलिकति शान्त हुने कि ?



No comments: