DURGA PANGENI

मन परे दिलमा, मन नपरे डिलमा !

Saturday, February 13, 2021

मेरी भ्यालेन्टाइन संगको बिहेको सम्झना

हामी भाग्ने की नभाग्ने मै दोधारमा थियौं । मोबाइल फोन थिएन । चिठी समयमा पुग्थेन ।  चिठी पठाउने यौटै बाटो भाउजू हुनुहुन्थ्यो तर अचेल मेरो चिठी च्यातेर फाल्दिन थाल्नुभएको रहे, या पढेर बा आमालाई सुनाइदिन थाल्नु भएको थियो । केटीको घर नजिकै यौटा कर्डलेस फोन थियो । त्यसमा फोन गर्‍यो बोलाइदिने ले सबै कुरा लिक गर्दिने  त्यति मात्र होइन त्यो कर्डलेस फोनमा बोलेको एफ एम रेडियो ले टिपेर झन् जात्रा । भाग्ने सल्लाह त गरियो तर त्यो कुरा नै लिक भएर हाम्रो प्लान ले फेल खायो । म गल्यांग बजारमा पर्खेको पर्खेई भएँ । पर्खँदा पर्खँदै केटी घर मै र म गल्यांग मा पक्राउ परियो 

 

लामो तिकडम, जालझेल र रिसइवी, भनाभन अनि बदलाहरू सकिएपछि उनीहरूले अब छोरी घरबाटै कन्यादान गरेर दिनेभए । राम्रै संग बिहेको जग्गे सुरु भयो । सासु ससुराले हुर्काएर बढाएकी फुल जस्ती छोरी मलाइ दिने भए मेरो लागि त्यही ठुलो कुरा थियो । आफूले माया गरेकी मान्छे सँग बिहे हुनु मेरो लागि ठुलो उपलब्धिको कुरा थियो मलाइ अरू केही चाहिएकै थिएन 

 

तर बा को अनुहार अँध्यारो थियो । एका दुई साथी बोलाउनु भएको रहेछ बा ले । उनीहरूले बिचमै बिहे छोडेर हिँडे, बा झन् अध्यारिनु भयो । मैले कुरा बुझ्नै सकिरहेको थिइन । यस्तो केही हुन्छ भन्ने परिकल्पना गरेकै थिएन मैले । केही बेरमा बिहे सकियो । जेठानले बैनीलाई बोकेर डहरकी ठुलीको घर अगाडी रोकिराखेको जिप सम्म पुर्‍याइदिनुभयो  म पछि पछि लागेँ । 

 

दुलही लिएर हामी घर तिर लाग्यौँ । तर मलाइ अत्यन्तै माया गर्ने मणि भिनाजु मेरो घर सम्मै नआई वालिङबाटै बिदा हुनुभयो म त गएँ है केटा..अब पन्चमूल सम्म किन पुग्नु र" भिनाजुले यति भनिसकेपछि बुढा रिसाएको या मेरा बा को त्यो अवस्था सँग दुखी भएको बुझ्न मलाइ झन् गाह्रो भयो  । “दक्षिणा दिन पनि पाइन भिनाजु” भनेँ ... ठिकै छ केटा भनेर वालिङ घुम्तीबाट बुढा कटहरबोटे तर्फ ओरालो लाग्नुभयो ।

 

अब बाँकी हामी सात आठ जना रहियो जन्तीमा । म, श्रीमती, बा र गैरापाटे ड्राइभर माइला काका चार जना । दुई जना भाइ, सिता दिदी र अरू को को थिए सम्झना आएन । बा ले वालिङ मोड मा पुगेपछि “म अड्डा तिर जान्छु यहाँ अब स्याङ्जा जाने गाडी खोज्दे माइला” भनेर ड्राइभर काकालाई भन्नुभयो । बा को त्यो बोलीमा रिस र आक्रोश थियो । छोराले आफूले भनेको मानेन र आफ्नो खिलाफ गएर बिहे गर्‍यो भन्ने पिडा पनि हुँदो हो तर बुढा घरै जान्न भन्न थाल्नुभयो, त्यो बेला बा स्याङ्जा तिरै काम गर्नुहुन्थ्यो बा को बसाई उतै थियो 

दुलही नभित्र्याई त हजुर जान हुँदैन दाइ...घर त पुग्नै पर्छ ! ड्राइभर काकाले बा लाई सम्झाउनुभयो । हामी आँधी खोला को किनारै किनार अमले पुग्यौँ   ल, दुर्गाले दुलही ल्याएछ ! अमले ज्योतिका बा ले बधाई दिए । बर्खाको समय हिलाम्य खेतका आलीको बाटो फेरी हामी च्याँउदी खोलाको  किनारै किनार अगाडी बढ्यौँ । दुलही अगाडी लगाएर म हिँडी रहेछु, जम्मा दश कक्षामा पढ्ने केटी सानै थिई । घर तिरका सबैले सपोर्ट नगरेको बिहे, माइतीले दिदी त्यही घरमा भएको भनेर लोकन्ती समेत पठाएनन् ।  केटी आत्तिएकी थिई, जसोतसो घर पुगियो 

 

त्यो समयमा हाम्रो गाउँमा बिजुली पुगेकै थिएन । घर पुग्दा घर अँध्यारो थियो । बिजुली बाल्ने ठाउँबाट गएकी केटी त्यहाँ टुकी देखि, झन् आत्तिई झैँ लाग्यो । भाइले आँगनमा गुन्द्री ओच्छ्यायो, हामी गुन्द्रीमा बस्यौँ । बा आँटी मा गएर ड्याम्म आफ्नो कोठाको ढोका लगाउनुभयो र सुत्नुभयो । बा त्यसरी सुतेपछि आमाले हामीलाई भित्र्याउने तरखर भन्दा अगाडी बा लाई फकाउन या के भएको बुझ्नको लागि होला अलिकति समय लगाउनुभो । समय घर्कँदै गयो हामीलाई भित्र्याउने सुरसार देखिएन ।  हामी निराश दुई जना डराउँदै आँगनमा पर्खी रह्यौं  

 

भाइको बिहे भयो रे भनेर ठुली दिदी हुत्तिँदै पिपल डाँडाबाट आउनुभएछ । ठुली दिदीलाई देखेपछि अलि अलि सास पलायो मेरो । त्यहाँ त्यसरी दुलाहा दुलहीलाई आँगनमा राखेको, बा माथि गएर सुतेको र घर अँध्यारो देखेपछि दिदीलाई कुरा बुझ्न बेर लागेन । यसै त छोड्न भएन भनेर दिदी “भाइ बुहारीलाई भित्र्याउन आइपुगेँ है” भन्दै अगाडी सर्नुभयो । मलाइ कता कता रुन आउला जस्तो भयो । अन्तिम अवस्थामा कसैको साथ पाएर अब त बाचियो बा भनेजस्तो अलिकति सास आयो । दिदीले भाइहरूलाई झुम्रामा मट्टितेल हाल्न लगाएर सजिवनका पोथ्रामा चिराग बनाओ भनेर लगाउनु भयो भाइहरूले आँगन मा चिराग बाले घर उज्यालो भयो । मेरो मन पनि केही त उज्यालियो तर भर्खर आएकी बेहुलीको मन कति अँध्यारो भयो होला त्यता सोचेर म फेरी अध्यारिएँ ।

 

जसो तसो बेहुली भित्र्याउने काम सकियो । भुईँ तल्लाको कोठामा आमा र दुलही औँठी भेटाउने खेल खेले । त्यो के के चलन हो फटाफट पुरा भयो । त्यतिन्जेल खाना पाकेको रहेछ खाइयो । म त्यतिन्जेल भित्र बेहुली बसेको कोठा मै थिएँ । अनि दिदी बैनी र आमाहरू भित्र बेहुली सँग र बाहिर बा सँग भाइहरू .. बस्ने र गफ गर्ने स्थान विभाजित भैसकेको थियो । मेरी आफ्नै माइली भाउजू जो मेरो श्रीमतीकी आफ्नै दिदी हुन् उनी समेत अँध्यारो मुख लगाएर यता त्यता डुलेको देख्छु ।

 

म कता जाम ? को सँग गफ गरूँ ? शुद्धि बुद्धि हराएर मेरा ओठ तालु सुकेका थिए । बाहिर छेडखानी सुरु गरिसक्नुभएको थियो बा ले । त्यही घरमा माइलाले बिहे गर्दा त्यत्रो दाइजो ल्यायो मेरो इजेत राख्यो यसको बिहेमा त्यही घरमा यस्तो भयो इत्यादि माइला दाइको मागी र मेरो प्रेम विवाह थ्यो । ससुरालीले त्यसरी खासै फरक त गरेका होइनन्  फेरी पनि बा ले सबैको अगाडी त्यसो भनेको कत्ति निको लागेन । बाहिर गएर बा सँग कुरा गर्छु भनेर उठ्न लागेको श्रीमतीले च्याप्प हात समातेर अहिले यो विषयमा केही बोल्न हुँदैन भनेर बस्न आग्रह गरिन । मैले उसलाई केटाकेटी नै सोचिरहेको थिएँ तर केटीले व्यवहारिकता देखाई । उसको इसारा बुझेपछि  म थचक्क त्यहीँ बसेँ । स्वास्नी छोड्नै नसक्ने भैसक्यो क्याहो साईलो ? बा ले बाहिर बाट वचन ले हानेको हान्यै गर्नुभयो !!

 

जसो तसो उज्यालो भयो । उज्यालो नहुँदै भाउजू ले श्रीमतीलाई उठाएर दैलो कुचो गराएर पन्चमूल पँधेरोमा नुहाई धुवाई को  लागि लगिसक्नुभएछ, म बसिबसी निदाएको थिएँ ! उठेँ र म पनि पँधेरा तिर लागेँ ! बोल्ने कुनै विषय नै थिएन । हाम्रो प्रेम विवाह अपमान र हेला अनि वचन हरूले छिया छिया भएको थियो । पुलुक्क श्रीमतीको मुखमा हेरेँ । केटी मुसुक्क हाँसी । यति विधि हुँदा पनि हाँसिरहेको देख्दा भने केही सन्तोष लाग्यो । हामी पँधेराबाट फर्केर घर आयौँ।  

 

घर आएर बुहारीले ढोग गर्नुपर्ने । बा लाई ढोग्ने बित्तिकै बा ले ‘”बुहारी लौ त यो मेरो औँठी सोझ्याइदेऊ यो बाङ्गो भयोभनेर बुहारीको हातमा यौटा कच्याककुचुक परेको औँठी थमाउनु भयो, केटी त्यो औँठी लिएर भित्र पसी । नियालेर हेरी । त्यो त्यही औँठी थियो हिजो उसका बा ले सम्धीलाई लगाइदिएको । औँठी सानो भयो भनेर त्यसरी कुच्च्याउनु पर्ने के थियो र त्यस्तो । फेरी उसलाई नै बनाइदे भनेर दिनुपर्ने त्यो औँठी हेरेर केटीले आँसु बगाई र औँठी मलाइ देखाई । बा को बेहोरा मलाई ननिको लाग्यो तर म सँग त्यो कुराको प्रतिवाद गर्ने या बोल्ने हिम्मत थिएन र बोल्ने अवस्था पनि थिएन, कसरी बोल्ने के बोल्ने भन्ने शुद्धि सबै हराएको थियो ।

 

बिहानको खाना खाएर हामी दुरान फर्काउन भनेर गयौँ । उता माइत पुगेर केटीले आफ्ना चाहिने लुगाफाटो प्याक गरी । त्यो रात हामी ससुरालीमै बसियो र भोलिपल्ट बिहानको गाडी चढेर काठामाण्डु आइयो । अनि दसैँ को दसैँ एक या दुई दिनको लागि मात्र घर जाने हाम्रो परम्परा लामै समय चल्यो ।

 

बिहे भयो, छोराछोरी जन्मे, पछि सम्मै मेरी श्रीमतीको यौटै मात्र गुनासो रह्यो अरू जे जस्तो भएको भए पनि बिहेमा हजुरले यौटा क्यामरा त ल्याउनु पर्थ्यो ! भिडियो खिच्ने कत्रो रहर थियो बिहेको, आखिरमा फोटो समेत खिच्न पाइएन । फोटो नै नखिची बिहे गर्ने त हामी मात्र होला है ...! बिहेको जग्गेमा वरमाला लगाउँदै गरेको यौटा फोटो छ हाम्रो त्यो पनि उतै ससुराली तिरकै कसैले खिचिदिएर हामीलाई पछि पठाइएको थ्यो, त्यो पनि आज फेला परेन ! बिहेको दिन क्यामरा लान नसकेको गुनासो आज पर्यन्त गर्छिन् तर बिहेका दिन के के भएको थियो त्यो उनले बिर्सेको हो या म सँग गुनासो नगरेको हो त्यस बारेमा चर्चा गर्दिनन् !! 

दुख र सङ्घर्षको इतिवृत्त धेरै लामो छ, केही अर्को फरबरी चौधको लागि बचाउँदै आजलाई बिदा....

क्रमशः 

कला पंगेनी ले मेरो शब्दमा पशुपती शर्मा संग गाएको गीत "जोगाउनु छ कालापानी" !! 


बिहेको ७ बर्ष पछिको फाइल फोटो !! 



No comments: