दशैं नजिकिइरहेको छ । केही स्मृतिको झोक्काहरु मेरो मष्तिस्कमा यताउति गरिरहेका छन् । दशैंसँग जोडिएका अनगिन्ती स्मृति छन् । बाल्यवस्थाका एकथरि, हुर्किदै गर्दाका, किशोरावस्थाका, तन्नेरी अवस्थाका अर्कोथरी र वयष्क अवस्था झन् अनेकथरी । ती सब एक झमट आउँछन्, अनि निमेषभरमै गायव हुन्छन् । तर, कहिल्यै छाड्दैन अस्पतालको आंगनमा आमाको हातबाट लाएको दशैंको टीकाको सम्झनाले । आमाको ममता मुछिएको अन्तिम टीका थियो त्यो । दशैं सकिएको केही दिनमै आमाले संसार छाडिन् । आमाको देहान्तसँगै मेरो दशैंको रंग उड्यो । अहिले पनि फिक्काफिक्का लाग्छ ।
मेरो आँखामा नाँचिरहन्छ, शिक्षण
अस्पताल महाराजगञ्जको वार्डबाट आमा क्याथेटर र युरिनको पोको आफैंले समातेर हिँड्दै
पार्कसम्म आएकी थिइन्। भाइ ईश्वरी र मलाई टिका लगाइदिएकी थिइन् । भित्रभित्रै
गल्दै गइरहेकी आमाले आश्वस्त पारेकी थिइन्, ‘अव त हिड्न
सक्ने भएँ । केही वर्ष अझै बाँच्छु ।’
आमाको ‘बाँच्छु’ शब्दले अस्पतालकै आंगनमा भएपनि दशैं बडो रमाइलो लागेको थियो ।
तर, बाँच्नुभएन
। यसपल्ट दशैं आउँदै गर्दा आमा आइन् सम्झनामा । लेख्न तम्सिए आमाको कथा । पीडा
लुकाएर हाँस्न जानेकी एक अजिबकी पात्रको
कथा । आफू दुखेर अरुका लागि मल्हम बोक्ने साहसीको कथा ।
०००
२००९ सालमा जन्मिएकी
मेरी आमाको २०२४ सालमा आफ्नै भिनाजुसँग बिहे भएको थियो, तेस्री
श्रीमतीको रुपमा । सम्भवतः आफ्ना मनपर्ने ज्वाइँकी कान्छी श्रीमती हुन्छे भनेर
आफ्नी एउटी छोरी बितेपछि मावली हजुरबाले आमालाई अन्माएर पठाएका थिए । आफ्नी एउटी
छोरीको मृत्युहुँदा ज्वाइँलाई परेको खतीको क्षतिपूर्तीका रुपमा पो आमालाई अन्माएका
थिए कि ? तर, आमा कान्छी श्रीमती भइनन्
। उनी त साइँली दरिइन् ।
मेरी आमाकी दिदी
अर्थात् मेरी ठूलीआमाको २०१० सालमा मेरा बासँग विवाह हुँदा ठूलीआमा दश वर्षकी र मेरी
आमा एक वर्षकी मात्रै थिइन् । बा ससुराली जाँदा त्यो १४ वर्षको अन्तरालमा धेरैपटक
आफ्नी सानै सालीलाई काखमा खेलाएका थिए ।
बोकेर यताउति गरेका थिए । मेरी आमा उहाँका भिनाजु (मेरा पिता)को काखमा खेलेरै
हुर्किएकी हुन् । पछि दुर्भाग्यवस ठूलीआमाको मृत्यु भयो । आमाका भिनाजुले अर्को
बिहे गरे । तर मेरा मावली हजुरबालाई चिन्ता परिरह्यो। आँगन पोलेर पुजेर, जल
खाएर बनाएका ज्वाइँलाई आफ्नी छोरी मरेपछि परेको दुख घटाउन र टुट्न लागेको सम्बन्ध
जोगाउन अर्की छोरी दिने निधो गरे ।
मेरो पिता पढेलेखेको
मान्छे । खानदानी परिवारको छोरो । मेरा मावली हजुरबाले त्यस्तो मान्छे गुमाउन
चाहेनन् । पहिला दश वर्षकी जेठी छोरी सुम्पेका उनले अहीले फेरी उही ज्वाइँलाई बोलाएर चौध वर्षकी अर्की छोरी अन्माएर पठाए ।
मेरी आमा आफ्नो बा जत्रै लाग्ने भिनाजुकी श्रीमती र ज्वानखोले खानदानकी बुहारी
भइन् ।
घर कडा थियो। सासु
राइकट थिइन्। सौता माथिको बुहार्तन सजिलो थिएन। चौध वर्षको केटाकेटी उमेर त्यसमाथि
अट्ठाइइस÷तीस
वर्षको बाघ जस्तो लोग्ने । डरमर्नु तरिकाले घर थेगेकी मेरी आमाको लागी पर्वहरु पनि
डराई–डराई आउँथे । रमाईलो र खुशीहरु पनि लुकी–लुकी आउँथे र कहालिएर फर्किन्थे । एक
किसिमको सास्ति नै थियो त्यो बुहार्तन। भाँडाकुटी र पुतली विहे खेल्ने उमेरमा मेरी
आमा कडा घरकी बुहारी भएकी थिइन्। धेरै रात रोएरै गुजार्नुपरेको उहाँले सुनाउनुभएको
विगत मलाई चलचित्रको कथा जस्तो लाग्थ्यो । मेरो कपालमा औंला खेलाउदै मलाई सुताउँदा
उनले धेरै कथा सुनाइन् । छोराले बुझोस् भनेर होइन, मनको बह
पोख्न ठाउँ नपाएर सुनाएकी हुन् ।
चौबिस सालमा चौध वर्षकी
केटी बिहे गरेका मेरा बालाई सन्तानको अत्यन्तै रहर थियो । उनी तीस वर्षका थिए तर
सन्तान जन्मेका थिएनन्। कुल धान्नु थियो । वंश जोगाउनु थियो। यस्ता ठूला जिम्मेवारीले
थिचिएका मेरा बाले तीन वर्ष पर्खे । सन्तान जन्मने कुनै लक्षण नदेखेपछि मेरी आमा
सत्र वर्षकी मात्रै हुँदा सत्ताइस सालमा अर्को
विहे गरे ।
सत्रवर्षको उमेर
भइसक्दा र विहे गरेको तीन–तीन वर्ष
हुँदापनि लोग्नेलाई सन्तान सुख दिन नसकेकी मेरी आमा अझै केही वर्ष पर्खन चाहन्थिन्
तर मेरा बा फुपुहरु र ज्योतीषको दवावमा आए । उनले पर्खन मानेनन् । एकदिन सुटुक्क
दौरासुरवाल लगाएर निस्केका बाले दुई दिनपछि पन्चेबाजा बजाउँदै जन्ती सहित नयाँ
दुलही लिएर आँगनमा देखापरे । मेरी आमा वेहोस भइन् । रोइन् कराइन् । ठुल्बाहरुले
हप्काए । धेरै बिरोध गरे घरबाट लखेट्ने धम्की दिए । ठुलीआमैहरुले ‘तेरो पुर्पुरै
यस्तै रैछ’ भनेर सम्झाए। आमाले आफ्नै कर्मको दोष हो भन्ने ठानेर चित्त बुझाइन्।
कान्छी आमाको आगमनसँगै
घरमा दिदीहरु जन्मिए । ठूलो दाजी जन्मनुभयो । हाम्रो घर स्वर्ग जस्तै सुखैसुखले
भरिपूर्ण हुँदै गयो, जुन यद्यपी कायम छ । सन्तान जन्माउन मेरा
बाले के गरेनन् । आँपको रुखसँग समेत विवाह गरेका छन् । म लगायत हामी सबै सन्तानलाई जन्म दिनको लागि
उनले गरेको संघर्ष सम्झदा बाप्रति सम्मानभाव जागेर आउँछ ।
०००
समय बित्दै गयो । आमा
प्राय रोईरहन्थिन् । किन रुन्थिन् मेरीआमा त्यति धेरै? त्यो
बुझ्ने उमेर हुनै लागेको थियो । अचानक आमा बिमारी भइन्, उठ्नै
नसक्ने गरी । बेथा लुकाउने अचम्मको बानी थियो आमाको। किन त्यसरी आफ्नो विमार
लुकाउँथिन् ? मैले कहिल्यै बुझीन या बुझ्नै सकिनँ । जति सकस
भएपनि कहिल्यै ‘बिमारी छु’ भनिनन्।
त्यो दिन अचानक आयो र
आमा थला परिन्। ज्वरो आउने, घुँडा दुख्ने, सास
फेर्न गाह्रो हुने र वाकवाकी लागीरहने हुँदाहुँदै मेरी आमा ओच्छ्यान परेकी थिइन्।
धामीझाँक्री देखाउने, गुरुङ डाक्टरका ट्याबलेट र पिपलटारे
डाक्टर्नीका आयुर्वेदिक झोल दवाइको भर पर्न छाडिसकेकी थिइन् आमा । उनीहरुले
‘गेष्टी’ हो भनेर धेरै पैसा असुलीसकेका थिए । आमालाई सेक विसेक लागेको थिएन ।
आमा उठ्नेबस्ने गर्नै
नसक्ने भएपछि मैले हिम्मत गरेर बासँग भनें, ‘बा आमालाई अस्पताल लैजाम न ।’ बा ले
पुलुक्क मलाई हेरे । वरीपरी कोही छ कि भनेर नजर दौडाए । अनि सुस्तरी भने, ‘अव पिंढी कुर्ने दिन आएका हुन अस्पताल लगेर फाइदा छैन । खर्च ठुलो आउँछ ।’
म असमज्जमा परें ।
आमालाई ठूलो डाक्टरलाई देखाउन पाए निको हुन्थिन् कि भन्ने मेरो आशामा तुषारापात
हँुदै थियो । मेरा बा उपचारको मामलामा निकै अनुभवी मान्छे हुन् । उनका दुबै मिर्गौलाको
अपरेसन गरेर पत्थर निकालेको हो । बाको अपरेसनताका आमाले रातदिन भगवानको पूजा गरेर
व्रत वसेर उनलाई निको होस् भनेर कामना गरेको धेरै समय भएको थिएन । बा निको भएर
फर्केका पनि हुन काठमाडौंबाट तर मेरी आमा बिमारी हुँदा बाले किन यति साह्रै
उपेक्षा गरेका ? विहान उठेर आमालाई लिएर म अस्पताल हिँडे काठमाडौं । दिदी उतै थिई ।
आमालाई डाक्टरले जाँचे, दुबै
मिर्गौला विग्रेको भने र उपचार सुरु गरे । आमालाई उपचार गर्ने पैसाको निकै समस्या
पर्यो । म भन्दा सानो भाई ईश्वरीले सात हजार जोगाएर राखेको रहेछ । त्यो पनि मासियो
। दिदीसँग र मसँग भएका वीसतीस हजार रुपैयाँ समेत कुनै छेउ नलागी दुई हप्तामै सकिए
। त्यसपछी बाले पटक–पटक गरी पन्ध्र हजार पठाउनुभएको थियो । त्यो पैसाले कुनै छेउ
लागेन । अपरेशन गरेको साठीऔं दिनसम्म आमालाई सन्ताउन्न पोका रगत दिनुपरेको थियो ।
उपचार गर्दा म ऋणमा चुर्लुम्मै डुबिसकेको थिएँ । आमा पीर गरिरहन्थिन्। आफू बिमारी
हुनाले बालख छोरो ऋणमा डुब्दा कुनचाहिं आमा पो दुखि नहोलिन् र । अभावै अभावमा
उपचार गराउँदा पनि मेरो ऋणको ग्राफ डेढ लाखबाट उकालो लागिसकेको थियो । शिक्षण
अस्पतालले डिस्चार्ज गर्न पनि सकेन, निको बनाउन पनि सकेन ।
एकजना दयालु नर्सको अनुकम्पाले मेरी आमालाई फ्री बेडमा सारेर उपचार गर्न सहयोग
पुग्यो, त्यसपछि भने पहिला जस्तो ठूलो खर्च आएन ।
अपरेशन पछि दुई महिना
अस्पताल बसेपछि एकदिन डाक्टरले बोलाएर मलाई सोधे, ‘तिम्रा बा खोई ?’
मैले ‘घरैछन’ भन्ने जवाफ दिएपछि सके आजैको दिनभित्रै बालाई बोलाउ
भने । आमा आईसियुमा थिइन् । मैले अनिष्ट हुने शंका गरें । बालाई फोन गरें ।
भोलीपल्टको बस चढेर बा आइपुगे । झोलामा केही तुलसीका पत्ता र जौतील ल्याएका रहेछन्
। मैले बा आइपुगेको डाक्टरलाई सुनाएँ । उनिहरुले भेन्टिलेटर निकाल्ने निर्णय गरे ।
म स्तब्ध भएर उनीहरुको कुरा सुनिरहें ।
निलो गाउन लगाएर बा
आमाको टाउको नजिकै उभिएका थिए । म गोडा पट्टीबाट आमाको मुखमा लगाइएको पाईप हेर्दै
थिएँ । अटोमेटिक मेसीनले आमालाई सास फेराइरहेको थियो । एकछिनमा नर्स आइन् । ईसीजी
मेसिनमा के–के चलाइन्। तियहाँ देखिएका रातानिला बांगा धर्सा सोझा हुँदै गए । एउटा
लामो आवाज निकालेर मेसिनले टुइइय ग¥यो । नर्सले त्यो मेिसन बन्द गरिन् र
आमाको मुखबाट पाइप निकालिन् । छातीमा टाँसेका बाटुला टेप हटाइन् । बा ले बरर गीता
पाठ गर्न थाले । आमाको मुखमा तुलसी पात र जौतील राखिदिए । आमाले घिक्क गरिन् । बा
ले तप्प आँशु चुहाए । म किंकर्तब्यविमुढ मुढो झैं त्यहाँ ठडिइरहें ।
यसरी आमाको जीवन समाप्त
भयो र म टुहुरो भएँ । रात परिसकेको थियो । आइसियुबाट निकालेर आमालाई अन्तै कतै
लगियो । मैले त्यता हेर्न पाइन । भोलीपल्ट अन्त्येष्टीको लागि लास निकाल्ने बेलामा
मात्र मैले पाएँ । मेरा बाको संगत ठूला मान्छेहरुसँग रहेछ । पूर्व मन्त्री दिनवन्धु अर्याल, बहालवाला
मन्त्री गोपालमान श्रेष्ठ, सांसद शंकर पाण्डे र युवा नेता
कमल पंगेनीहरु बालाई परेको दुःखमा दुःख मिसाउन अस्पताल आइपुगेका थिए । ठूला
मान्छेकी श्रीमती बितेकोमा आर्यघाटमा समेत ठूलै मान्छेहरु मलामीको रुपमा उपस्थित
थिए । बालाई आमाको मृत्युले कुनै अशर प¥यो कि अथवा परेन त्यो
म बुझ्दिन । किनकि बाका अरु दुई श्रीमती बाँकी थिए । तैपनि आफ्नै श्रीमती मर्दा केही पिडा त भयो
होला त्यसैले त हिजो दुईथोपा आँशु चुहाएका थिए । मेरो भने संसार लुटीएको थियो ।
दैबको लाठी मैमाथि बज्रेको थियो । निरीह भएको थिएँ । यो सब म आफैमाथि परेको
बज्रपात हो भनेर विस्वास गर्नै सकीरहेको थिइनँ ।
आमा धुवाँमा बिलिन
भइरहँदा मैले केही डाक्टरले पनि ‘निको हुन्छ अव धेरैदिन अस्पताल बस्न पर्दैन’
भन्ने आश्वासन सम्झिएँ । आमाले क्याथेटर र युरिनको पोको समातेरै टिचिङ अस्पतालको
पार्कसम्म झरेको सम्झिएँ । बिमार लुकाएर हंसमुख हुँदै भाई ईश्वरी र मलाई टिका
लगाइदिएको सम्झिएँ।
केही दिनअघि फुलपातीको दिन आमालाई अस्पतालको बेडमा छोडेर
दिदी घर फर्कीएकी थिई । उसको जागीर थियो स्कुल पढाउँथी । आमासँगै बसिरहन उसलाई
जागीरले दिएन तर मनमा आमा निको भएर फर्कने सपना बोकेर ऊ घर गएकी थिई ।
आमाको अन्त्यष्टी सकियो
। वालिङ जाने गाडी थानकोटबाट ओरालो लाग्दा म झल्याँस्स भएँ । मेरो सिटको आडैमा भाई
बसेको थियो । यही उकालो गाडीमा चढ्दै गर्दा आमालाई निको बनाएर तन्दुरुष्त बनाएर
फर्कने रहरका साथ काकाठमाडौं छिरेको म आमाको अस्तु आर्यघाटमा सेलाएर एक्लै फर्कदै
थिएँ । अनायासै मेरा आँशु बगे। म
झ्यालपट्टी फर्किएँ । भाईले मेरो पिठ्युँमा सुस्तरी मुसार्यो । अव घर गएर दिदीलाई
के भनुँ ? अर्को
पिरलोले ग्रसित थिएँ म ।
दिदी आमासँग निकै नजिक
थिई । मैले बरु केही समय घर बाहिर आमाबाट टाढा भएर बिताइसकेको थिएँ । छोरो थिएँ, सायद
अलि कठोर पनि पो थिएँ कि । तर दिदी विहेपछि पनि आमासँगै थिई । उसले पढाउने स्कुल
नजिकै थियो,प त्यसैले ऊ आमासँगै बस्थी । दशैं विदा थियो ।
त्यसैले आफ्नो घर गएकी थिई । काठमाडौंबाट मेरा भिनाजु पनि मसँगै फर्किएका थिए
। उनी घर पुगेर सोझै दिदीलाई हामी
काठमाडौंबाट फर्केको खवर मात्र सुनाएछन्।
एक हप्ताअघि निको हुँदै
गरेकी आमाको उतै मृत्यु भयो र भाई एक्लै फकियो भन्ने मेरी दिदीले सोच्दै
सोचिन । उ, हुर्रिएर निको भएकी
आमा भेट्न आइपुगी ।
दिदी आइपुग्दा साँझ
परिसकेको थियो । पिंढीलाई गुन्द्रीले बारेर मलाई राख्ने ‘कुनों’ तयार पारिकसकेका
थिए । मेरो कपाल खौरिएर म मुडुलो भइसकेको थिएँ । दिदी घरमुनी आइपुगेको सम्चार आयो
। ऊ खुशी हँुदै हान्निएर आएकी थिई ।
‘यहाँ
आएपछी भाईलाई झम्टिन्छे सितेले । यसलाई कुनातिर लुकाओ। छुन दिन हुँदैन,’ पण्डित बाले हो कि थुम्केली बाले हो मलाई लुकाउने उर्दी जारी गरे । साहु रामेले कुनाको गुन्द्रो पन्छाएर मलाई
भित्र छिर्न ईशारा ग¥यो । म लुकें। दिदी आँगनमा प्रवेश गरी र
‘आमा’ भनेर बोलाई । मेरा आँखाबाट बलिन्द्र धारा आँशु बगे तर म चिच्याएर रुन सकिनन्
।
‘आमा खोई
?’ दिदीले कसैसँग सोधी । उसले सोध्ने बित्तिकै सबैजना एकैपटक
कोकोहोलो मच्चाएर रुन थाले । मैले कुनाको चेपबाट हेरें। दिदी उत्तानो परेर छटपटाउन
थाली। ‘आमा हो’ भनेर कहालिई । आमा वितेको मलाई किन सुनाएनौ भनेर दोष लगाई । म
नआउँदै भाईलाई किन थुन्यौ भनेर चिच्याई । एकपटक बाहिर बोलाईदेउ ‘भाईलाई हेर्छु’
भनेर विलौना गरिरही । उसले झम्टेर छोइदिन्छे र सुरुदेखिकै रित पूरा गर्नपर्छ भनेर
मलाई दिदीको अगाडी जान दिइएन । यसरी परम्परा र चलनबाट च्यापिएर आमाको मृत्युमा
एकअर्काले मुखामुख गरेर रुन समेत पाइएन । हामी एक्लाएक्लै रोइरह्यौं धेरैबेरसम्म ।
०००
यसरी खोसिएको मेरो
अभिभावकत्व, खुशी र उमंग सम्झाउँछ दशैंले । लाग्छ– भुल्ने खोजेको मार्तवियोग सम्झाउन
मात्रै आउँछ मेरा लागि दशैं । ओभाउन थालेका आँखामा आँशुको मुल फुटाउन आउँछ दशैं ।

No comments:
Post a Comment